
काठमाडौं । सारा विश्व प्राणघातक कोरोना भाइरस कोभिड १९ महामारीविरुद्ध लडीरहँदा यता चिनियाँ अधिकारीहरुले इक्वेडरबाट आएको सामग्रीमा कोरोना भाइरस भेटिएको बताएका छन्। शुक्रबार चीनको सरकारी अखबार गोल्बल टाइम्सले इक्वेडरबाट आएको सामग्रीमा कोरोना भेटिएको जनाएको छ। इक्वेडरबाट आयात गरिएको मासुजन्य सामग्रीमा कोरोना भेटिएको चिनियाँ भन्सार प्राधिकरणले घोषणा गरेको हो। कोरोना भेटिएपछि चीनले इक्वेडरियाका ३ कम्पनीमाथि कारवाही गरेको छ। ती कम्पनीहरुको दर्ता स्थगित गरी उनीहरूको उत्पादनको आयातलाई बन्द गर्ने निर्णय भएको समाचारमा जनाइएको छ।
यद्धपी चिनियाँ विदेश मन्त्रालयले खाद्यजन्य पदार्थबाट कोरोना सर्छ या सर्दैन भन्नेकुरा अनुसन्धानमै रहेको जनाएको छ। विश्वभर फैलिएको कोरोना भाइरस चीनको वुहान स्थित समुद्री बजारमा फेला परेको थियो। भाइरसका लागि चीन जिम्मेवार रहेको आरोप विश्वभरबाट लाग्दै आएको छ। चिनियाँ अधिकारीहरुले कोरोना अन्य देशबाट वुहानमा ल्याइएको हुनसक्ने बताउँने गरेका छन्। यस्तै संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले बिहीबार भने -“विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन”। विश्वलाई बन्धक बनाउने भाइरसलाई दुश्मनको सज्ञा दिँदै उनले राष्ट्रसंघीय स्वास्थ्य निकायको जिनेभास्थित मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा भने , “हामी यस महामारीलाई विभाजित संसारको रूपमा हराउन सक्दैनौं । दुश्मनलाई फाइदा दिन चाहँदैनौं भने सहकार्य नै यसको समाधान हुनेछ ।”
यसैबीच समस्यालाई थप सहज रूपमा समाधान खोज्न भन्दै डब्लुएचओले महामारी प्रतिरोध समितिको गठन पनि गरेको छ । अमेरिकाले कोरोनाभाइरस सङ्कटसम्बन्धी विषयमा विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर आलोचना गरेपछि न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेनजनेनसोन सरलिफको नेतृत्वमा महामारी प्रतिरोधका लागि स्वतन्त्र समितिको गठन भएको हो । जिम्मेवारीबारे बोल्दै डब्ल्यूएचओ प्रमुख गेब्रियससले भन्नुभयो, “के भएको छ भन्ने सत्यतालाई बुझ्न र हाम्रो मानवता अझ राम्रो बनाउन नयाँ उपायहरूको खोजीमा समितिले काम गर्दै विश्वलाई प्रकाश पार्र्नेछ ।”
कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन्.। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
यस्तै करिब ६ महिनिदेखी विश्वभर तहल्का मच्चाईरहेको विश्व कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणित भएको स्वीकार गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।
डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए । यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैन । हामी यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं ।’
हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ । वान केरखोवले यसबारे डब्ल्यूएचओले छिट्टै एक विज्ञिप्त जारी गर्ने जानकारी दिए । मेरिकाले पनि टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको जनाएका हुन् ।
प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको पोम्पेओलाई उद्धृत गर्दै रोयर्टसले जनाएको छ । टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाँदै आएको तथा प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यानमा दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको उनले बताएका छन् । यसअघि भारतले पनि टिकटकसहित ५९ वटा चिनियाँ एप्स प्रतिबन्ध लगाइसकेको छ ।
यस्तै अमेरिकाको संघीय जाँच व्यूरो एफबीआईका निर्देशकले चीनका गतिबिधी अमेरिकाका लागि सबैभन्दा ठूलो दीर्घकालीन खतराको रूपमा खडा भएको बताएका छन् । वासिङ्गटनस्थित हड्सन इन्स्टिच्यूटमा एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचना चोरी गर्ने चीन सरकारको क्रियाकलाप अमेरिकाको लागि खतरा भएको बताएका हुन् । चीनले बहु–चरित्र अवरोध अभियान सञ्चालन गरिरहेको आरोप लगाउँदै रेले जुनसुकै माध्यम अपनाएर भए पनि विश्वकै शक्तिशाली मुलुक बन्न चीन लागि परेको बताए ।
अमेरिकाको नीति नै प्रभावित पार्ने रणनीति अनुरुप चीनले आर्थिक जासूसी अभियान, तथ्यांक तथा मौद्रिक चोरी र अवैध राजनीतिक गतिविधिको रुपरेखा अघि बढाएको रेको आरोप छ। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४६३ जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ । एसिया २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५९२ जनाको मृत्यु भएको छ । अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।