
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका ७ नेताहरुले अर्कै समूहमा प्रवेश गरेका छन् । दुई प्रदेश सभा सदस्यसहित ७ नेता उपाध्यक्ष वामदेव गौतमले सुरु गरेको एकता अभियानमा लागेका छन्।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले आफूहरु पार्टी एकताका लागि दबाब सिर्जना गर्ने अभियानमा लागेको बताएका हुन्। उनीहरुले नेकपामा अहिले आएको संकट वैचारिक र राजनीतिक नभई केही नेताहरुको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका कारण आएको बताएका छन्।
अहिलेको अवस्थामा जुनसुकै समूहमा लागे पनि परिवर्तनको सपना सजाएका जनतालाई धोका दिनु भएको बताउँदै आफूहरु पार्टी विभाजनको पक्षमा नलागि एकताको पक्षमा लाग्ने उनीहरुको भनाइ छ।
‘हाम्रो पार्टीभित्र भइरहेको विवाद र किचलो कम्युनिस्ट पार्टीमा हुने सैद्धान्तिक, वैचारिक र राजनीतिक अन्तरविरोध नभइ केही नेताहरुको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षका कारण पार्टी विभाजनको डिलमा पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा आफ्नै पार्टी र नेतृत्वका विरुद्धमा हुने कुनै पनि गतिविधिमा सहभागी हुनु भनेको दशकौँदेखि आमूल परिवर्तनको सपना सजाएर बसेका आम नेपाली जनतालाई धोका दिनु सिवाय अरु केही पनि हुन सक्दैन।’उनीहरुले विभाजनको पक्षमा नलागी एकताको पक्षमा लाग्न समेत सबै नेता कार्यकर्तामा अपिल गरेका छन्।
यसरी अपिल गर्नेमा निम्न व्यक्तिहरु छन्ः १. प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी २. प्रदेश सभा सदस्यसदस्य श्रीप्रसाद मैनाली, स्थानीय नेताहरु,३. प्रकाश भण्डारी, ४. बन्धनकुमार मण्डा, ५. पुष्प गरागाईं,६. रामकुमार राई, ७. माधव अर्याल ।