
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर बाँडिने क्रम रोकिएको छैन । अब प्रधानमन्त्री ओलीलाई धक्का लाग्ने गरी एक नेता प्रचण्ड पक्षमा लागेका छन् ।
शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा मन्त्री पद नपाएपछि ओली पक्षका नेकपा केन्द्रीय सदस्य छक्कबहादुर लामा प्रचण्डतिर लागेका हुन् । मन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेका लामाले मन्त्री पद नपाएपछि पुनः प्रचण्डतिरै फर्किएका हुन् ।
यसअघि पूर्व माओवादी पक्षका लामा मन्त्री बन्न पाइने आशसहित ओलीतिर लागेका थिए । शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा लामालाई मन्त्री नबनाएपछि शनिवार एक विज्ञप्ति जारी गर्दै लामा प्रचण्डतिरै फर्किएका छन् ।
नेकपा स्रोतका अनुसार ओलीतिर रहँदा पनि लामाले मन्त्री हुन नपाउने देखेपछि पुनः प्रचण्डतिरै फर्किएका छन् । मन्त्री नपाएपछि आक्रोशित लामाले ओली नेतृत्वको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको सदस्य अस्वीकार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर प्रचण्ड–नेपाल पक्षमा रहेको जनाएका छन् ।
लामाले २०४८, २०७० र र २०७४ सालको निर्वाचनमा हुम्लाबासी जनताले दिएको अभिमतको सम्मान गर्दै ओली पक्ष अस्वीकार गरेको जनाएका छन् ।पूर्व माओवादीका तत्कालीन सल्लाहकार सदस्य समेत रहेका लामा मन्त्रीले मन्त्री बनाउने आश्वासन पाएपछि पुस ६ गते प्रचण्डको साथ छाडेर ओली पक्षमा लागेका थिए ।ओलीले पूर्व माओवादीका सबैलाई मन्त्री बनाएपनि लामालाई छुटाएका थिए । जसको असर स्वरूप लामाले ओलीलाई छाडेका छन् ।