
काठमाडौ पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लालबाबु पण्डित नेकपा विभाजनपछि दुवै पक्षमा नलागी तटस्थ बसेका छन् । उनी वामदेव गौतमको एकता अभियानमा पनि छैनन् । नेकपाका केन्द्रीय सदस्यमध्ये दुवै पक्षमा नलागी तटस्थ बस्ने पण्डित अब एक्लो नेता बनेका छन् । केपी ओली पक्षले शनिवार विराटनगरमा गरेको सभामा उनी आउने अपेक्षा गरे पनि सभामा सहभागी भएनन् ।
पण्डितले भने, ‘शनिवारको सभामा आउन भनेर धेरै साथीहरु घरमै आउनु भएको थियो । तर मैले अहिले दुबै समूहको सभा सम्मेलनमा नजाने निर्णय सुनाएपछि उहाँहरु कन्भिस भएर फर्किनुभयो ।’नेता पण्डितले प्रतिनिधिसभा विघटनापछि धेरै नेता कार्याकर्ताले आफनो निवासमा आएर पार्टीको लाइन स्प्रष्ट गर्न भनेको समेत बताए । तर आफू अहिले तटस्थ् बस्ने भनेर उनीहरुलाई फर्काएको नेता पण्डितले बताए । उनले नेकपाको दुबै समुहको सभा सम्मेलन अहिले गाली गलाैज गर्ने मन्चको रुपमा परिणत भएको टिप्पणीसमेत गरे ।
‘अहिलेको स्थिति आउनुमा विचारभन्दा पदीय लडाइँ मुख्य कारण हो । त्यसैले म कतै लागेको छैन । मलाई दुवै समूहले बोलाए तर म कतै पनि गएको छैन, किनभने म फुटेको नेकपाको नेता हुन चाहन्न,’ पण्डितले भनेआफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र तटस्थ रहेर त्यो भूमिका निर्वाह गर्न खोजेको बताए । उनले अदालत र निर्वाचन आयोगले गर्ने निर्णयपछि तुलानात्मक रुपमा जुन समूह आफूलाई उपयुक्त लाग्छ त्यही समुहमा गएर उभिने पनि बताए।
पण्डितलाई माधव नेपालले औपचारिक कार्यक्रममा सहभागी हुनका लागि पटक-पटक आग्रह गरेका छन् । तर पण्डितले भने जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नेहरूलाई एकै ठाउँमा जोड्नका लागि आफू लागिपरेको बताए ।प्रतिनिधिसभा विघटनपछि संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा पण्डितको पनि हस्ताक्षर छ । तर उनले भने आफ्नो अर्कै प्रयोजनको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।
पण्डितले भने, ‘मैले आफनो पार्टीको सरकारका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेको छैन । अन्य राजनीतिक प्रयोजनका लागि हस्ताक्षर गरेको कुरा फोटोकपी गरेर अविश्वासको प्रस्तावको प्रयोजनमा समावेश गर्ने काम भएको छ । अविश्वास प्रस्तावमा मेरो समर्थन थिएन र हुन सक्दैन ।’
तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिँदै आएका थिए । एमालेको नवौँ महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर आफू अहिले माधव नेपालको पक्षमा पनि नरहेको उनले प्रष्ट पारे । https://pathivaranews.com/ बाट साभार गरीएको हो ।