
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच १ घण्टा छुट्टै छलफल भएको छ । बिहान बोलाइएको सुरक्षा परिषद्को बैठक सकिएलगत्तै ओली र थापाबीच १ घण्टा छुट्टै छलफल भएको हो ।
मंगलबार बिहान बसेको सुरक्षा परिषद् बैठक सकेर पौने ११ बजे सबै सदस्यहरू बालुवाटारबाट बाहिरिएका थिए भने प्रधानसेनापति थापा भने पौने १२ बजे बालुवाटारबाट बाहिरिएका थिए । यसअघि सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सेनापति थापाबीच भेटवार्ता भएको थियो, जसलाई रहस्यमय रूपमा हेरिएको छ ।
मंगलवार बसेको सुरक्षा परिषद् बैठकमा विप्लव नेकपा माथिको प्रतिबन्ध र संकटकालको विषयमा छलफल भएको स्रोतले जनाएको छ । सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । परिषद् सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने गरेका छन् । परिषद्को सदस्य सचिव रक्षा मन्त्रालयका सचिव रहेका हुन्छन् ।
राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालन सम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्ने गरेको छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकता अनुसार बैठक बस्ने गरेको छ ।