
गौरी वली | माधव कुमार नेपाल मेरो राजनीतिको बाल्यकालदेखि नै मैले सुन्दै आएको नाम थियो। वि.सं. २०५४ मा भएको पार्टीको छैटौं राष्ट्रिय महाधिवेशसनपछि त मैले भौतिक रुपमा नै उहाँलाई देखेको थिए । त्यतिबेलादेखि हालसम्म मैले चिनेको र बुझेको माधव कमरेडको थोरै चर्चा गर्न चाहान्छु।
शुरुमा कमरेड मनमोहन अधिकारी र जननेता कमरेड मदन भण्डारीको निष्ठा, योग्यता र क्षमताले विशाल बनाएको पार्टी ०५४ मा जब माधव कमरेड नेतृत्वमा आउनुभो, तब दुई टुक्रामा विभाजित हुन पुग्यो । हाल केपीशर्मा ओलीले हामीलाई लखेट्यो, पार्टी फुटायो आदि भनेर कोकोहोलो गर्ने माकुने कमरेडले त्यतिखेर आफू नेतृत्वमा हुँदा पार्टी किन फुटाउनुभो ? अर्थात पार्टी फुटाएर जाने साथिहरुलाइ किन रोक्न सक्नुभएन ?
मनमोहनको पालामा ९० सिट ल्याएर सबैभन्दा ठूलो भएको पार्टी माकुने कमरेडको पालामा ७० सिटमा सिमित हुन पुग्यो। पार्टी फुटाएर चोक्टैचोक्टा खान गएका बामदेव गौतम कमरेड पनि चुनावमा जिरो सिट सहित झोलमा नराम्रो सङ्ग चुर्लुम्म डुबेपछी पुनः एमालेमै आत्मसमर्पण गर्न आइपुग्नुभो। मैले सुनेको बामदेव कमरेड पार्टीमा फर्किएपछि पुनः झलनाथ र बामदेव कमरेड मिलेर माधव कमरेडलाई नेतृत्वबाटै हटाउन तयार भएपछि उहाँको पछाडी सतिसाल झैं उभिएर केपी कमरेडले जोगाउनुभएको थियो रे !
०५९ मा जनकपुरमा भएको पार्टीको सातौं महाधिवेशनमा कमरेड केपी ओलीले पेश गरेको बहुपदिय प्रणाली सहितको प्रस्तावलाई माकुने कमरेडहरुले पास हुन दिनुभएन अर्थात कमरेड केपीलाई पार्टी नेतृत्वतर्फ हेर्नै दिनुभएन । अल्पमतमै भएपनी केपी कमरेड ब्याक हुन नचाहेको भए त्यहाँ नेतृत्व छनौटमा चुनाव पनि हुनसक्थ्यो ।
तर पार्टी एकताको लागि केपी कमरेडले सहमति जनाएर ब्याक हुनुभएको थियो। म महाधिवेशन प्रतिनिधि भएर आएको हुँदा त्यहाँको दृश्य सबै मैले नजिकैबाट हेर्ने मौका पाएकी थिएँ।त्यतिबेला देशमा माओवादीको चर्को द्वन्द चलिरहेको थियो।२०६२÷०६३ सालतिर माओवादीलाई शान्ति बार्तामा ल्याउन केही भुमिका खेलेको भएपनी माधव कमरेडको नेतृत्वमा समग्रमा पार्टी क्षयिकरणतर्फ नै गैरहेको स्थिति थियो। ०६४ को निर्वाचनमा त झन पार्टीले ३३ सिट मात्र हासिल गरि तेस्रो स्थानमा झर्यो। कमरेड माधव नेपाल स्वयं दुई–दुई स्थानबाट चुनाव हार्नुभयो।
त्यसपछि म असक्षेम भए अब म यो झोला बोक्न सक्दिन भनेर बिचैमा पार्टीले दिएको जिम्मेवारीको झोला बिसाएर भाग्नुभो। २०६५ सालमा पार्टीको आठौं महाधिवेशन बुटवलमा शुरु भयो। उक्त महादधिवेशनमा कमरेड केपीको सातौं महाधिवेशनमा स्थगित बहुपदिय प्रणाली सहितको प्रस्ताव पारित भयो। तत्पश्चात पार्टी बहुपदिय प्रणालीमा प्रवेश गर्यो।
आफ्नो प्रस्ताव पारित भएपछि र यत्रो बर्ष कुरेको नेता हुनुको नाताले कमरेड केपीले नेतृत्वमा उम्मेदवारी दिनु स्वभाविक नै थियो र दिनु पनि भयो। अर्को उम्मेदवारी कमरेड झलनाथ खनालले दिनुभयो। कमरेड माधव नेपाल चाहिँ आफू सर्बसहमत नेता हुन नपाएकोमा कुण्ठा पालेर एउटा होटेलमा बसिरहनुभयो ।
कमरेड केपीले अनुरोध गर्नुभो, कमरेड तपाईंलाई यत्रो वर्ष मैले सहयोग गरें, यसपटक मलाई सहयोग गरिदिनु न भनेर…, तर माधवले सहयोग गर्नुभएन बरु आन्तरिक रुपमा कमरेड झलनाथलाई नै सहयोग पुग्ने काम गर्नुभयो । महाधिवेशन सक्कियो ।
कमरेड केपीले चुनाव हार्नुभो। अध्यक्षमा केपीले चुनाव हारे पनी उहाँको टिमका बहुमत केन्द्रिय सदस्यहरुले चुनाव जितेका थियौ। त्यहाँ केपी हार्नुभएको थिएन, हराइएको थियो। हराइएका थुप्रै प्रुफहरु हामीसंग छन् । म ती प्रुफहरु आवश्यकता पर्दा एक–एक गरेर पेश गर्न सक्छु ।
हामीले उक्त समयमा यो रिजल्ट नस्विकार्नु र पुनः मतदानको माग गर्न कमरेड केपीलाई भनेका पनी थियौं । तर उहाँले आफुलाइ हराइएको छ भनेर जान्दाजान्दै पनी पार्टी हित र एकताको लागि उक्त सबै कुरा छोडिदिनुभएको थियो र आफ्नो हार स्विकार्न तयार हुनुभएको थियो।
विधि पद्धतिको कुरा गरेर कहिल्यै नथाक्ने माधव कमरेड ०६४ को निर्वाचनमा दुई–दुई स्थानबाट चुनाव हारेर पनी सोही कार्यकालमै झ्यालबाट छिरेर समिति सभापति र प्रधानमन्त्री समेत खान सफल हुनुभो ।
भन्नुको तात्पर्य जनताले बाहिर बस्न दिएको म्यान्डेट चार वर्षसम्म पनि मान्न सक्नुभएन । उहाँ ०६६ सालमा प्रधानमन्त्री हुनुभो । उक्त कुर्सी पनि उहाँले केपीकै बलबुताबाट प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्री भएदेखि नै झलनाथ, बामदेव कमरेडहरुले उहाँलाई लखेट्न थाल्नुभयो ।
उहाँहरुले ‘माधव हटाउ’ अभियानमा हस्ताक्षर समेत संकलन गर्नुभएको थियो । कमरेड केपीको नेतृत्वमा हामी भने माधवको कुर्सी बचाउन लडीरह्यौ । केपीले अड्याइ नै रहनुभएको थियो तर झलनाथ कमरेडहरुको विरोधको अघि उहाँ टिक्न सक्नुभएन । उहाँले खुट्टा छोडिदिनुभो र पदबाट राजिनामा दिनुभो । पुनः ०७१ मा पार्टीको नवौं महाधिवेशन भयो ।
राजनितीक जिवनकालको यत्रो लामो समयसम्म नेतृत्व लिन नपाएको मान्छे कमरेड केपीको त उम्मेदवारी दिने हक नै थियो । त्यसैले उहाँले उम्मेदवारी दिनुभो । तर १५/१५ वर्ष पार्टी महासचीव खाएर पनि माधव कमरेड अझै अघाउनुभएन । फेरि फर्किएर कमरेड केपीका विरुद्ध उम्मेदवारी दिन आइपुग्नुभयो । केपी कमरेड त्यतिखेर असाध्यै बिरामी हुनुहुन्थ्यो ।
मानवताको थोरै पनि अंश बाँकी नराखेर माधव कमरेडको टिमले केपी कमरेडको स्वास्थ्यलाई जोडेर हदैसम्मका कुप्रचारहरु गर्नुभो । कसैले विदेशबाट बाकसमा आउँछ भन्नुभो । कसैले चार महिनामा मर्नेलाई जिताएर के गर्नुहुन्छ भन्नुभो । कसैले यस्ता रोगिले पार्टी कसरी चलाउँछ भन्नुभो । कति हुन कति गालीका डङ्गुरहरु ।
ती गालीहरु सम्झिएपछी अहिले पनि जिउ सिरिङ्ङ हुन्छ र मन चसक्क घोच्छ । यसपटक जसरी पनि केपी कमरेडलाई जिताएर मात्र फर्किने अठोटका साथ देशैभरीबाट प्रतिनिधिहरु आएको हुँदा उहाँहरुले जति नै हर्कत गरेपनी केही काम लागेन । आँखिर केपी कमरेडले जितेरै छोड्नुभो । त्यतिबेला चुनाव हारेको कुण्ठा पालेर मरिच चाउरिए झैं चाउरिएर बसेका माधव कमरेडलाई पार्टी एकतापछि प्रचण्ड कमरेड ठाँक्रो भैदिनुभो ।
०७४ फाल्गुन ३ गते जब केपी कमरेड प्रधानमन्त्री बन्नुभो, उहाँको मन झन जलन भयो । त्यो जलनलाई उहाँले सरकार गठन भएको सात महिनामै ‘मेरो देश डुब्न लाग्यो, लौन कोहि माझी आउ बचाइदेउ’ भन्ने कवितात्मक अभिव्यक्ति सहित व्यक्त गर्नुभो । त्यसपछि उहाँ निरन्तर सरकारको विरोधमा लाग्नुभो । इतिहासमा पहिलो पटक राष्ट्रियता र समृद्धिको पक्षमा यति धेरै ऐतिहासिक काम गर्ने आफ्नै पार्टीको प्रधानमन्त्री तथा अध्यक्षलाई खुइल्याउन कमरेड प्रचण्डको पाइण्टको फेर समाउदै उहाँ सधैं लागिरहनुभयो ।
आफ्नै प्रधानमन्त्रीका विरुद्ध कहिले प्रचण्डको नामबाट १९ बुदे आरोप पत्र अघि सार्नुभो त कहिले सडकबाटै चार–चार पटक अध्यक्षबाट निकालेको घोषणा गर्नुभयो । कहिले ‘हामी यहाँ छौ’ भनेर सडकमा बस्न जानुभो त कहिले होटेल–होटेलमा गुटका भेलाहरु गर्नुभो ।कहिले विरोध जुलुसका नाममा माखे साङ्लो बनाउनुभो त कहिले देशभरिका सोझा–साझा जनतालाई झुक्याएर गाडीमा हुल्दै काठमाण्डौ पुर्याउनुभो । कहिले राम कुमारी झाँक्री जस्ता लठैतहरुलाई उचालेर प्रधानमन्त्रीको हुर्मत लिने काम गर्नुभो त कहिले भिम रावल जस्ता पदलोलुपहरुलाई संसदमा आफ्नै प्रधानमन्त्रीलाई त कुन पार्टीको प्रधानमन्त्री होस भनेर सोध्न लागाउनुभो ।
बास सडक, सदन, घर जताततै र खाँदा, सुत्दा, उठ्दा जहिलेसुकै केपी ओलीलाई मात्र गाली बेइज्जत र हुर्मत लिने काम गर्नुभो । यसो हेर्दा लाग्थ्यो हो न हो उहाँहरुलाइ केपी ओलीकै भुत लागेको छ।इतिहासमा पहिलो पटक गठित दुइ तिहाइ नजिकको कम्युनिष्ट सरकार जुन केपी ओलीको राष्ट्रवादी छवि र ‘समृद्ध नेपाल सुखी नेपाली’को सपनामा अघि बढी रहेको थियो। जनताले आशा सङ्गालेका थिए, अब चाहिँ केही हुन्छ भनेर । तर यो आशालाई आफ्नै पार्टीका नेताहरूले निराशामा परिणत गराउन उद्दत हुनुभो ।
सरकारलाई घेराबन्दी गर्ने क्रममा उहाँहरुले प्रधानमन्त्री लाई अविश्वास र राष्ट्रपतिलाई महाअभियोग लाउन तयार हुनुभो। ‘मर्ता क्या नै कर्ता’ भने झै जब देशको लागि यत्रो भलो चिताएर काम गर्दागर्दै आफ्नै नेताहरुको हदैसम्मको घेरीबन्दीले जाने बाटो कतै नभएपछि प्रधानमन्त्रीले पनि संसद भंग गरिदिनुभो। त्यसपछि उहाँहरुलाई अर्को निर्वाचनको फोबिया शुरु भयो ।
हिजो त्यही जनताको मतबाट सांसद पद खाइरहेकाहरु आज तिनै जनताकोमा जाने कुरोलाइ प्रतिगमन देख्न थाल्नुभो । यदि संसदमा गाँठो फुक्न सक्दैन भने उक्त गाँठो फुकाउन जनतामाझ जाने विश्वका आम लोकतान्त्रिक देशहरूको परिपाटी छ। तर केपी ओलीलाई तानाशाही देख्ने उहाँहरुको आँखाले चुनावलाई प्रतिगमन देखेर महान जनताप्रति अविश्वास जगाउँदै आफैलाई लोकतन्त्र विरोधि साबित गर्नुभो ।
२०७७ फाल्गुन ११ मा सर्बोच्च अदालतले संसद विघटनलाई उल्ट्याइदिएपछी अर्थात संसदको पुनर्बहाली भएपछि हतार हतार उहाँहरुले लड्डु पाटी गर्नुभो । प्रचण्ड र माधव कमरेडले एक अर्कालाई लड्डु ख्वाएको देख्दा लाग्थ्यो कि उहाँहरु भरखरै मात्र प्रणय बन्धनमा बाँधिदैहुनुहुन्छ।
यतिमात्र हैन उहाँहरुले यस्को उत्सवमा दिपावली गर्नुभो, भोजभतेर गर्नुभो, विजय जुलुसहरु निकाल्नुभो । ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने झै उहाँहरुले लड्डुमात्र खानुभो । तर ३/४ महिनासम्म न त सरकारलाई दिएको समर्थन फिर्ता लिनुभो न त सरकार बनाउन नै सक्नुभो । आँखिर हात लाग्यो शून्य । यहि बिचमा सर्बोच्चले फेरि ऋषी कट्टेललाइ कम्युनिपट पार्टीको आधिकारिकता प्रदान गर्दै एमाले र माओवादीलाई पुर्ववत अवस्थामै फर्काइदियो ।
त्यसपछि उहाँहरुमा अर्को रुवाबासी शरुरु भयो। माधव कमरेडको प्रचण्डसङ्गको त्यत्रो गहिरो प्रेम कसरी छोडेर केपी कहाँ आउने ? उहाँलाई निकै गाह्रो पर्यो । फाल्गुन २८ मा पुनःस्थापित एमालेको बैठक राख्दा कमरेड केपीले माधव कमरेडहरु सबैलाई बोलाउनुभएको थियो तर माधव कमरेडहरु यता आउनुको साटो पेरिसडाँडा गएर प्रचण्डसङ्ग बिछोडका आँसु झारेर रुन थाल्नुभयो ।
आफू बैठकमा नआउने तर बैठकले गरेका निर्णयहरुप्रति असहमति राख्ने । बैठकले महाधिवेशन आयोजक कमिटी बनायो । आजसम्मको प्रचलनमा आयोजक कमिटीमा अध्यक्ष र महासचिव बाहेक अरु सबै सदस्यहरु मात्र हुन्छन् । त्यही कुरो उक्त बैठकले गरेको थियो ।
त्यो कुरा माधव कमरेड नमान्ने । आफ्नो राजनितीक जीवननकालमा अनुशासनको नाममा कति नेता कार्यकर्तामाथी डण्डा बर्साउनुभएको छ ? कतिको राजनितिक भविष्य पुरै निलीदिनुभएको छ उहाँले ? आफू त्यसो गर्ने तर आफुले पार्टी र नेतृत्व विरुद्ध गरेको जस्तोसुकै अपराधलाई पनि माफी दिनुपर्ने र बरु पुरस्कृत नै गर्नुपर्ने रे !
उहाँले पार्टी र नेतृत्व विरुद्ध गरेको अपराधलाई अपराध भन्न नपाइने ? एक पछि अर्को गर्दै श्रृङ्खलाबद्ध रुपमा गरेका उहाँहरुका अपराधहरु माफीयोग्य थिएनन् । तर पनि नेकपा एमाले आदरणीय अध्यक्ष केपीशर्मा ओलीले तपाईंका सबै अपराधहरूलाई म माफी मिनाहा गरिदिन्छु । ल आउनुस मिलेर पार्टी चलाऔं, पार्टी राम्रो बनाऔं भन्दा उल्टै ठूला कुरा गरेर समानान्तर कमिटी बनाउनतिर लाग्ने ? जनसंगठन र पार्टीका समानान्तर भेलाहरु गर्ने ? सिङ्गो विश्वले सुन्ने गरी आफ्नो नेताको हुर्मत लिने ?
विभिन्न अराजक र नीच व्यक्तिहरुबाट देशको सर्बोच्च सँस्था सम्माननीय राष्ट्रपतिमाथी गालीगलौच गर्ने र चरित्र हत्या गर्ने आदि अपराधहरु उहाँहरुले गरिरहनुभो ।कर्णाली प्रदेशमा कमरेड माधव नेपालले पार्टीको ह्विप उलंघन गरी सांसदहरुलाई फ्लोर क्रस गरेर पार्टी निर्णय विपरित मतदान गर्न लाउनुभो । यो कुन विधीभित्र पर्छ ? ०७८ बैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफ्ना पक्षका सांसदहरुलाई संसदमा अनुपस्थित गराएर आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार आफै ढाल्नुभो ।
यो कुन विधि भित्र पर्छ ? यता पार्टी एकताको लागि कार्यदल गठनको नाटक गर्ने, उता आफ्नो पार्टीको राष्ट्रिय सभाका आधिकारिक उम्मेदवार कमरेड राम बहादुर थापा बादल र सूर्य चिन्हका विरुद्ध स्वतन्त्र उम्मेदवारलाई कलम चिन्हमा मतदान गरी पार्टीको उम्मेदवार हराउने ? यो कुन विधिभित्र पर्छ ?
२०७८ बैशाख ७ मा म विश्वासको मत लिँदिन, अर्को सरकार गठनको लागि मार्ग प्रशस्त गर्छु भनेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई अनुरोध गर्दा राष्ट्रपतिले नेपालको संविधान २०७२ को धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकारको लागि आह्वान गर्नुभो र त्यसमा माधव कमरेडले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भए नभएका साँंसदहरुको किर्ते हस्ताक्षर गरेर शितलनिवास जानुभो ।
यो कुन विधि भित्र पर्छ ? दलिय व्यवस्थामा दलको सिफारिस पनि नचाहिने, स्वतन्त्र सांसदजस्तो जता मन लाग्यो त्यतै, जे मन लाग्यो त्यही, गर्न मिल्छ र ? यत्ति पनी उहाँलाई हेक्का नभएको हो वा उहाँले बसाल्न खोजेको विधि यहि हो ? कमरेड केपीलाई नितान्त एक्लो छोडेर अरु सबै अर्कातिर भएर गरेको उहाँहरुको अथक प्रयासले पनी भ्यागुताको धार्नी पुर्याउन नसकेपछि अहिले उहाँहरु फेरि संसद पुनःस्थापना र नवगठित सरकारको खारेजीका लागि सर्बोच्च जानुभएको छ ।
तर त्यहाँ पनि केही दाल गल्नेवाला छैन ।
यसरी हेर्दा विधीपद्धतिको गीत गाउँदै हिडेका माधव कमरेड नै हाल सबैभन्दा धेरै विधि मिच्ने नेतामा पर्नुभएको छ। हामीले थाहा पाएदेखी हालसम्म एक आदर्श पुरुषको रुपमा मान्दै आयौं । तर आज यो झुठ साबित भयो । विगत देखि नै कम्मल ओढेर घिउ खाने उहाँको बानी रहेछ । तर अत्याचार ले सिमा नाघ्दा आज त्यो कम्मलको घुम्टो उत्रीएको छ । उहाँले विगतमा चोरेर खाने गरेको घिउ आज लाज पचाएर खुलेआम खाँदैहुनुहुन्छ। मानसम्मानले कहिलै नआघाउने माधव कमरेडले अरुलाई मान सम्मान दिन कहिलै जान्नुभएन ।
उहाँको नेतृत्वमा हुँदा केपी कमरेडलाई कति तिरस्कार, बहिस्कार, विभेद गर्नुहुन्थ्यो ? वास्तवमा केपी कमरेडलाई पार्टी भित्रको दोस्रो दर्जाको व्यवहार नै गरिन्थ्यो । केपी कमरेडलाई मात्र हैन केपी कमरेडका नजिक हुने वा माधव कमरेडको बिचारसङ्ग थोरै भिन्न मत राख्नेहरुलाई उहाँले धुलो चटाइदिनुहुन्थ्यो। कमरेड केपीमाथी माधव–झलनाथ कमरेडहरुले गरेको विभेदकारी अराजनीतिक व्यवहार सम्झिदा अहिले पनि मेरो आँखा रसाउँछ ।
यसरी आफुमाथी गरिएका पिडादायी, अपमानजनक र विभेदकारी व्यवहारलाई पनि सहजै पचाउँदै कमरेड केपी ओली पार्टी, देश र जनताको लागि अघि बढीरहनुभयो। सबैभन्दा अचम्मको कुरो त के छ भने केपी कमरेडले जीवनकाल भरी माधव कमरेडलाई निस्वार्थ सहयोग गर्दै आउनुभो भने बदलामा माधव कमरेडले सधैं केपी कमरेडलाई विरोध र असहयोग मात्र गरिरहनुभो ।
यति सम्मकी केपी कमरेडले १५ वर्ष माधव कमरेडको नेतृत्व सफल पार्न लाग्नुभो । तर माधव कमरेडले सहयोग गर्न त सक्नुभएन नै आफुले चुनाव हारेर पनि केपी कमरेडको एक कार्यकाल अर्थात ५ वर्ष कुर्न सक्ने पनि उहाँमा धैर्यता रहेन। कमरेड प्रचण्डसंग मिलेर माहधिवेशनबाट निर्वाचित आफ्नो पार्टीको वैधानिक अध्यक्षलाई चौबाटोबाटै हटाएर आफुले हाताहाती अध्यक्ष लिनुभो। के उहाँको विधि पद्धति यहि होला र ?
अर्काको अपमान गर्न पाएपछी खिर खाए जस्तो मान्ने माधव कमरेडले आफू विचारविहिन र मुद्दाविहिन भएपछि कुर्सी र सोफातिर ध्यान लाउन थाल्नुभो । पार्टीको बैठकमा केपी ओली सोफामा बस्यो, माथी मञ्चमा बस्यो भनेर एउटा बिरामी प्रधानमन्त्री बसेको सोफा आफै गएर तानेर वेइज्जतिपुर्ण तरिकाले तल झार्नुभो । तर १५ दिन नबित्दै आफुहरुको विरोध कार्यक्रममा उहाँ सडकमै रातो सोफा ओछ्याएर विराजमान हुनुभो ।
माधव कमरेड आफू सास रहुन्जेल कुर्सीमा बसीरहनुपर्ने अरु कहिलै नभएपनी हुने । आफू पदमा हुँदा कामको नाममा सिन्को नभाच्ने, अरुले काम गर्दा डाहाले मर्ने । आफ्नो कमजोरी कहिलै नदेख्ने, दोष जति सबै अरुलाई थोपार्ने । आफुलाई सधैंभरी अरुले मानीदिनुपर्ने, तर आफू अरुलाई कहिलै स्विकार्न नसक्ने ।
असाध्यै संकिर्ण, डाहाडे, पदलोलुप, ढ्वाङ्गी र कुण्ठाले भरिएको कालो मन आदि अवगुणले गर्दा आज माधव कमरेड आफै पतनको बाटोतर्फ लम्कदै हुनुहुन्छ।वतर्मान सरकारले इतिहासको कालखण्डमा सबैभन्दा धेरै उत्कृष्ट कामहरू गरेर इतिहास रचिरहेको बेला, कोरोना माहामारीले देश आक्रान्त भैरहेको बेला, आज सबै मिलेर सरकारलाई सहयोग गर्नुपर्थ्यो ।
देश विकासको लागी, सिमा सुरक्षा र राष्ट्रियताको रक्षाको लागि, जनताको जिउधनको सुरक्षाको लागि, कोभिड नियन्त्रणको लागि एजेन्डाहरु अघि सारेको भए र सरकारले जनता र देशको पक्षमा यस्तो काम गरोस भनेर मुद्दा उठान गरेको भए आज हामी सबैजना माधव कमरेडलाई वाह वाह माधव कमरेड भन्दै सहयोग गर्थ्यौं । तर आज देश र जनता भन्ने कुरा उहाँहरुले बिर्सीसक्नुभएको छ।
त्यस सम्बन्धमा एउटा शब्द पनि उच्चारण गर्नुहुन्न। केवल ध्याउन्न भनेको केपी ओलीले ऐतिहासिक कामहरु गर्न थाल्यो, देश समृद्ध बनाउन थाल्यो, यस्को इतिहास रचिने भयो त्यसैले ‘एनिहाउ, केपी हटाउ’ र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउ भन्ने एउटा मात्र मुद्दा आज उहाँहरुसंग बाँकी छ। हाँसो उठ्ने कुरो हाम्रो एमालेको विधानमा अर्को कुनै बामपंथी पार्टीबाट कुनै सदस्य पार्टी प्रवेश गरेमा निजको पुर्वको पार्टीमा जुन स्ट्याटस थियो र सदस्यता जुन मितिको थियो यता पनि सोही नै कायम रहने भन्ने व्यवस्था छ ।
सोही वैधानिक व्यवस्था बमोजिम नै एमालेको विचारलाई मन पराएर यस्तो अप्ठ्यारो परिस्थितीमा माओवादी केन्द्रबाट साथ दिन आउनुभएका कमरेडहरु राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट लगायतका कमरेडहरुलाई आज पार्टीमा स्थान दिइएको छ ।
तर माधव कमरेडहरु उहाँहरुको उक्त जिम्मेवारीप्रति प्रश्न उठाउँदैहुनुहुन्छ। आफैले बनाएको विधानको खिलापमा बोल्दैहुनुहुन्छ भने अर्कोतर्फ एमालेको एकता जोगाउन हामी शेर बहादुरलाई प्रधानमन्त्री बनाउँदैछौ भन्नुहुन्छ । हरे भगवान, कुरा सुन्दा हाँस्नु कि रुनु जस्तो हुन्छ। के उहाँले आत्मसात गरेको र्माक्सवाद र जवज त्यही भन्छत ? एउटा बुर्जुवा पार्टीको नेतालाई प्रधानमन्त्री बनाउँदा आफ्नो पार्टीको एकता जोगिने ? त्यसकै लागि उहाँ यत्रो वर्ष कम्युनिष्ट भएर काम गर्नुभएको हो ? समाजवादमा जाने बाटो त्यही हो र ?
मैले बाल्यकालदेखि सम्मान गरेको, आदर्शको धरोहर मानेको मेरो नेता माधव कमरेड यी माथिका म लगायत लाखौलाख कार्यकर्ताले नबुझेका प्रश्नहरुको के तपाईंसंग उत्तर छ ? यदि छ भने दिनुहोला ।
र यदि अझैपनी बुद्धि फिर्छ भने सहि बाटोमा फर्कनुस् । कमरेड केपीको दिल पृथ्वी जत्रो विशाल र महान छ । उहाँले सहजै रुपमा तपाईंका अपराधलाई माफी दिन सक्नुहुनेछ । अन्यथा तपाईं लगायत तपाईंका पछि लागेका केही बुद्धिभ्रष्ट अन्य कमरेडहरुलाई राम–राम भनौंला र कुनै दिन माया लागे गुगलमा सर्च गरेर हेरौंला माधव नेपाल कमरेड बाई–बाई …… (लेखक नेकपा एमाले केन्द्रीय सदस्य तथा डोटी जिल्ला इञ्चार्ज पनि हुन् ।)