News Portal

यो संघियताको मर्मको कुरै छैन, ७ सय ६१ वटा सरकार जरुरी थियो ? : पृथ्वीसुब्बा गुरुङ

एनपर्दा संवाददाता
२२९ पटक

काठमाडौँ,। तनहुँको गोवर्धन भनेपछि अहिलेको पुस्ताले होइन, अघिल्लो पुस्ताले धेरै चिन्ने नाम हो । एउटा व्यक्तिको हिसाबले माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ५९ जनामध्ये परिपक्व नेता, शालीन र लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण परिवारबाट राजनीतिमा आएको व्यक्ति हुनुहुन्छ । त्यस्तो परिवारबाट आउनुभएको व्यक्तिलाई ‘म विश्वासको मत दिन्नँ’ भन्न मलाई गाह्रो भयो ।

तर, उहाँले ‘विश्वासको मत मलाई दिनुहोस्’ भन्नुभएको होइन । ‘मेरो नेतृत्वमा बनेको गण्डकी प्रदेश सरकारलाई दिनुहोस्’ भन्नुभएको हो । म उहाँको कार्यकालको सफलताको कामना पनि गर्छु । उहाँप्रति मेरो सद्भाव, सम्मान पनि छ ।

जुन सैद्धान्तिक ढंगमा, जुन परिस्थितिमा अवसरवादीहरूको गठबन्धनबाट यो सरकारको गठन भएको छ, त्यस्तो अवस्थामा यो सरकारलाई नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलको विश्वासको मत दिन नसक्ने व्यहोरा सुरुमै स्पष्ट भन्न चाहन्छु ।

यो विश्वासको मतको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले यहाँ आफ्नो भनाइ राख्ने क्रममा अहिलेको सरकार, जुन चार पार्टीको गठबन्धनले बनेको छ, यसबारेमा केही कुरा राख्न चाहन्छु ।प्रमुख प्रतिपक्षी दलको नाताले, ठूलो भने पनि सानो भने पनि प्रतिपक्षमा अहिले हामी मात्रै छौं । एकलौटी प्रतिपक्षी दलको हिसाबले गुण र दोषका आधारमा समर्थन गर्ने, विरोध गर्ने, आलोचनात्मक समर्थन गर्ने हो । कहिलेकाहीं हामी रचनात्मक प्रतिपक्षको भूमिका पनि निभाउँछौं भन्ने गर्छौं।

हाम्रो भनाइ रचनात्मक प्रतिपक्ष वा गुणदोषका आधारमा भन्ने शब्दको कुरामा होइन । प्रतिपक्ष भन्दैमा सरकारको निरपेक्ष विरोध गर्नुपर्ने, खण्डन गर्नुपर्ने जुन खालको संस्कार अहिले छ, त्यो संस्कारबाट यो प्रतिपक्षी दल नेकपा एमाले मुक्त हुन चाहन्छ । निरपेक्ष विरोध वा समर्थनको कुरा होइन, विषयगत हिसाबले, दायित्व र जिम्मेवारीको हिसाबले, प्रदेश सरकारको कामले प्रदेशकै गौरव बढाइरहेका बेला हाम्रो समर्थन रहन्छ ।

आज संघीयता कार्यान्वयनको प्रश्न धेरैले उठाइरहेका छन् । यसमा मलाई हाँसो लाग्छ । ‘जसको खुट्टा छैन, उसको टेकबहादुर’ भनेजस्तो, ‘जसको सिङ छैन, उसको नाम तिखे’ भने जस्तो संघीयताको धेरै कुरा गर्ने तर, बलियो बनाउने बेला आफ्नो भूमिका ननिभाउने हामी त्यस्तो प्रतिपक्ष होइन ।

हामी यो संघीयता कार्यान्वयनमा कहाँनेर समस्या छ ? हाम्रो मनस्थिति, हाम्रो मानसिकता अझ काठमाडौं बसेका नेताहरूको मानसिकता भन्छु । तपाईंहरू केपी ओलीलाई मात्रै भन्नुहुन्छ । काठमाडौं बसेका एकएक नेताहरूको व्यवहार, दृष्टिकोणका कुराहरू पनि सुनाउन सकिन्छ ।

विगतमा पहिलो संविधानसभा सदस्य हुँदाखेरी हरेक नेताको कुरा सुनेको छु । बुझेको छु । कसले कहाँ प्रयोग गर्न खोज्यो ? कसले कहाँ राजनीतिक व्यापारको कुरा गर्छ ? कसले साँच्चै यो मुलुकमा संघीयता कार्यान्वयन गर्ने कुरा गर्छ ? हामीलाई राम्रोसँग थाहा छ । त्यसैले म त्यसलाई काठमाडौंको मानसिकता भन्छु ।

त्यहाँको माइन्डसेट, ठूलाठूला ब्युरोक्रेट, त्यहाँका टेक्नोक्र्याटहरू किन चाहिन्छ काठमाडौंमा ५० हजार कर्मचारी किन प्रदेशमा १५ २० हजार कर्मचारी पनि आउँदैनन् ? किन आजका दिनसम्म स्थानीय सरकारले कर्मचारी व्यवस्थापन गर्न सकेका छैनन् ? के यो एक जना व्यक्तिका कारणले मात्रै हो ?

हो, प्रदेश सरकारमा हामी झन्डै एक्ला छौं । प्रदेश सरकारका मुख्यमन्त्रीहरू अप्ठेरोमा हुनुहुन्छ । त्यो अप्ठेरोमा माननीय कृष्णचन्द्र नेपाली हुनुहुन्छ । हिजो मै अप्ठेरोमा थिएँ । प्रदेश सरकारको तर्फबाट संघीयताका लागि यो सरकार डटेर लाग्छ भने त्यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले हरेक मोर्चामा सहयोग गर्न तयार छ ।

भोलि केन्द्रमा पनि तपाईंहरूको सरकार बन्ला, त्यस्तो बेला पनि तपाईंहरूले आवाज उठाउन सक्नुपर्छ । यो प्रदेश सरकारको खातिर, गौरवको खातिर, संघीयता बलियो बनाउनका खातिर, लोकतन्त्र बलियो बनाउन तपाईंहरू साँच्चै त्यो यात्रामा हिंड्नुभयो भने हामी सहयात्री हुन तयार छौं ।

मैले बारम्बार भनिरहेको छु – असल शासनका लागि असल व्यक्ति चाहिन्छ । त्यसकारण हाम्रो कमर्चारी नियुक्त गर्दा वा सरुवा गर्दा ब्यूरोक्रेसीलाई पनि ध्यान दिएका छौं । एमालेको कार्यकर्ता हो कि होइन ? कांग्रेसको कार्यकर्ता हो कि होइन ? भनेर हैन । सबैलाई विज्ञापन आह्वान गरेर महत्वपूर्ण पोस्टमा सक्षम व्यक्ति नियुक्त गरेका छौं ।

विगतको सरकारले गरेका कर्मचारी हटाउनुपर्छ, हाम्रा कार्यकर्ता अटाउनुपर्छ भन्नुहुन्छ भने यस्तो कुरामा नेकपा एमाले संसदीय दल डटेर सामना गर्नेछ । सिस्टमलाई बचाउने कुरा हो । ब्युरोक्रेसीलाई अपमान गर्ने कुरा, सिस्टम भत्काउने कुरा, ‘राइट म्यान इन् द राइट प्लेस’ सिद्धान्तलाई भत्काउने कुरा र गण्डकी प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्ने कुरामा बाधा व्यवधान पुर्‍याउने काम यो सरकारले नगरोस् ।

र, पनि यसको अर्थ हामीले कोरेकै बाटोमा हिंड्नुपर्छ भन्ने होइन । हामी अहिले एउटा यात्रामा छौं । यो यात्रामा हामी सही बाटो हिंडेनौं भने सही ठाउँमा पुग्न सक्दैनौं । गण्डकी प्रदेश सरकार सफल होस्, सभा प्रभावकारी होस् भन्ने हामी चाहन्छौँ ।

गण्डकी प्रदेशका जनताले संघीयताप्रति गर्व गर्न सकौं भन्ने हाम्रो चाहना हो । चाहे सत्ता पक्ष होस् या प्रतिपक्ष यसका लागि हामी हरहमेशा तपाईंहरूको साथमा छौं । यसभन्दा पर जाने कुराले फेरि हाम्रो झगडा शुरु हुन्छ ।

हामीले सिंगापुरको मोडालिटी पनि हेर्‍यौं, मलेसियालाई पनि हेरका छौँ । २२ वर्षमा अल्पविकसित मुलुकबाट उठाएर कसरी विकसित राष्ट्रको दाँजोमा पुग्यो ? त्यसको रहस्य के हो ? कारण के हो ? लि क्वानले ३१ वर्ष शासन गर्दा सिंगापुर कसरी माथि उठाए ? सिंगापुरमा पनि त जातीय द्वन्द्व थियो । त्यसलाई कसरी साम्य गरियो ?

हाम्रो यहाँ पनि जातीय द्वन्द्व छ । जातीय अहंकार प्रकट भइरहन्छ । हामीले प्रदेशको नाम किन गण्डकी नामकरण गर्‍यौँ ? किन तमुवान, मगराँत वा तमुवान गण्डकी गर्न सकेनौं ? हामीले जातीय सद्भाव कायम गर्ने कुरामा स्वामित्व लिंदा समस्या पैदा गर्छ भनेर मैले नै सबै पार्टीसँग सल्लाह गरेर गण्डकी नामकरण गरेको हुँ ।यो समीकरण तयार गर्नेबेला धेरै व्यक्ति र पार्टीसँग सैद्धान्तिक छलफल भयो । एउटा पार्टीले भन्यो – गण्डकीको नाम तमुवान राख्न सक्छस् भने तेरो सरकार बचाउँछौं । तर, मैले चाहिंदैन, यो बाटोमा हिंड्न सक्दिनँ भनेर जवाफ दिएको थिएँ ।

भोलि केन्द्रमा पनि तपाईंहरूको सरकार बन्ला, त्यस्तोबेला पनि तपाईंहरूले आवाज उठाउन सक्नुपर्छ । यो प्रदेश सरकारको खातिर, गौरवको खातिर, संघीयता बलियो बनाउनका खातिर, लोकतन्त्र बलियो बनाउन तपाईंहरू साँच्चै त्यो यात्रामा हिँड्नु भयो भने हामी सहयात्री हुन तयार छौं ।

जातीय सद्भाव र सांस्कृतिक एकता, ऐक्यबद्धता हाम्रो प्रदेशको सबैभन्दा ठूलो सम्पत्ति हो । त्यो सम्पत्तिलाई कायम गरेर मात्रै हाम्रो प्रदेशको गौरवगाथा स्थापित गरेका छौं । गण्डकीको सामाजिक सद्भाव कायम छ, मेलमिलाप कायम छ भन्न पाएका छौं ।

यो ‘सानो दुःखले आर्ज्या’ को अवस्था होइन । यही प्रदेश सभाले आर्ज्याको अवस्था हो । यसलाई नबचाएर भत्काउनतिर अहिलेको सरकार उद्यत रहन्छ भने प्रतिपक्षको रुपमा हामी टुलुटुलु हेरेर बस्दैनौँ । सामाजिक, जातीय सद्भाव कायम गर्नका लागि, सांस्कृतिक ऐक्यबद्धता कायम गर्नका लागि तपाईंहरूको पहल, प्रयत्न हुन्छ भने हाम्रो समर्थन रहन्छ । साथ रहन्छ ।

संघीयताको मूल संरचना भनेको प्रदेश सरकार हो । कहिलेकहिले प्रदेश २ को मुख्यमन्त्रीले भन्नुहुन्थ्यो– यो संघीयता अवाञ्छित गर्भाधानबाट जन्मिएको बच्चा हो, यो आज बेसहारा भयो, हुर्काउने बाबुआमा भएन । त्यस्तैत्यस्तै बनाएको हो हाम्रो नेताहरुले । सुरुमा स्थानीय सरकारको कुरै थिएन, कतिवटा प्रदेश बनाउने भन्नेमात्र बहस थियो । किनभने संघीयता भएका धेरै देशमा दुई तहको मात्र सरकार हुन्छ । सरकारै तीन तहको भनेको त तीन चारवटा देशमा मात्र हो । त्यसमा सौभाग्वश हाम्रो मुलुक पनि परेको छ ।

मैले यसो भनिरहँदा स्थानीय तहका साथीहरुले ए हाम्रो अधिकार खोस्ने कुरा गर्छ भन्छन । हाम्रो मुलुकमा यो ७ सय ६१ वटा सरकारको जरुरत थियो ? हामीले बिरोध गर्नुपर्ने त्यहाँ हो । तर, हाम्रा नेताहरुलाई बिचको सरकार बलियो भयो भने केन्द्रलाई च्याप्छ भन्ने भयो ।

प्रदेश सरकारहरुलाई डमरु बनाइयो भनेको मैले त्यसै हो ? त्यसको सांकेतिक अर्थ छ । माथि पनि फुकेको, तल पनि फुकेको, बिचमा सुकेको । आज हाम्रो प्रदेश त्यस्तै छैन ? आज हाम्रो प्रदेशलाई के अधिकार छ ? हामीसँग राजश्व संकलन गर्ने अधिकार छ ? भएको बजेट पनि कहिले कहिले खोसेर स्थानीय तहलाई लगेर दिएको छ ।त्यही कारण प्रदेश सरकारको शासकीय क्षमता बढोस् भनेर मैले मन्त्रालयको पुनः सरचना गरेको हुँ ।

अहिले हाम्रो हालत के छ भने उठेर करायो भने हावाले उडाइदिन्छ, बसेर करायो भने कसैले सुन्दैन भन्ने उखान चरितार्थ भएको छ । त्यही चाहिँ नियति भोगिरहेका छौं हामी । मलाई लाग्छ, ब्युरोक्रेसी त्यही हो । देउवा प्रधानमन्त्री भए पनि, प्रचण्ड प्रधानमन्त्री भए पनि, केपी प्रधानमन्त्री भए पनि, माधव नेपाल वा डा बाबुराम प्रधानमन्त्री भए पनि, हामीले भोग्ने नियति त्यही हो । त्यो एउटा प्रबृत्ति हो, हामी त्यसविरुद्ध लड्नुपर्छ ।

गण्डकी प्रदेशमा हामीले चाहँदा चाहँदै पनि शासकीय क्षमता अभिवृद्धि गर्न सकेनौं । पाएनौं । यो ४० महिने कार्यावधिमा शुरुको वर्ष यत्तिकै बित्यो । लड्दालड्दै, भन्दाभन्दै बित्यो । कुनै कानून नबन्दाको कारण, कुनै स्रोत र साधनको उपलब्धता नहुनाका कारण, कुनै भौतिक पूर्वाधार हस्तान्तरण नगरिएका कारण धेरै काम गर्न सकेनौं । हामीसँग कर्मचारी नै थिएनन् ।

बाँकी ढेड वर्ष द्रुत गतिमा काम गरिरहेका थियौं । तर, राजनीतिक प्रतिस्पर्धाका कारण अलमल भयौँ । यो वर्ष साँच्चै राजनीतिक ‘टसल’ सुरु नभएको भए विश्वासको प्रस्ताव, फेरि अविश्वास, फेरि नयाँ सरकार गठनमा नअल्झिएको भए पूँजीगत खर्च ९५ प्रतिशत पुर्‍याउने थियौँ । यसको मतलब हामीले कामका लागि संरचना निर्माण गरिसकेका रहेछौं । सबै जिल्लामा संरचना विकास गरिसकेका छौं ।

यो कुरालाई तपाईंहरूले निरन्तरता दिनुभयो भने गण्डकी प्रदेश सरकारले आफ्नो डेलिभरी दिन सक्छ । प्रदेश हुनुको तात्पर्य, सान्दर्भिकता, औचित्य जनताले देख्नेछन् । हामीले अहिले जनतालाई गरेर देखाउनुपर्नेछ ।

ताकि यो संघीय शासन प्रणालीमा यो प्रदेश सरकार निर्माण भएर जनताले आजभन्दा २०० वर्ष अघिदेखि नपाएका सुविधाहरू पाउन थालेका छौं भन्ने प्रत्याभूति हुनेछ । त्यो काममा माननीय कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार लाग्यो भने त्यसमा हाम्रो पूर्ण साथ सहयोग हुनेछ । किनकि हामीले खोजेको पनि त्यही हो ।

कृष्णचन्द्रले गर्छ कि, पृथ्वीसुब्बाले गर्छ त्यो ठूलो कुरा होइन । राजनीतिक रुपले सत्ता कहिले उहाँको हातमा जान्छ, कहिले मेरो हातमा आउँछ । तर, प्रदेशलाई समृद्ध बनाउने, संघीयतालाई सबल बनाउने जुन हाम्रो रोडम्याप छ, यो रोडमा सँगै यात्रारत छौँ भन्न कुनै दायाँबायाँ गर्नुपर्दैन ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...

कुनै २/४ जनाको झुण्ड होइन, देशको धेरै जनसंख्या मेरो साथमा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका...