
हेडलाईन अनुसारको समाचार भिडियोमा हेर्नुहोला
वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्।
स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए।
छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उनको भनाइ छ। त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा,
प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताए। निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उनले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए।
एकीकृत समाजवादीसँग पार्टी एकता घोषणा गर्ने माओवादीको निर्णय !
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन्। दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले साना वामपन्थी दलहरूसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए।
अहिले तत्काल ठूला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए। ‘तत्काल कुनै पनि ठूला कम्युनिस्ट पार्टीसँग एकताको सम्भावना छैन,’ उनले भने, ‘तर साना केही दलहरूसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दै छौँ ।’
एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै नेपालले आन्दोलन सफल पार्न साना कम्युनिस्ट घटकहरूसँग एकता गर्न लागेको बताए। ‘स–सना कम्युनिस्ट पार्टीहरू हामीसँग एकीकृत हुन चाहिरहेका छन्,’ उनले भने, ‘हामीले पनि देशका विभिन्न ठाउँमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छौँ।’
नेपालले पाँचदलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहने पनि बताए। ‘हामी पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’