
काठमाडौं ।
काठमाडौंमा बालेन्द्र शाह (बालेन) को चर्चा सेलाउन नपाउँदै अर्का स्वतन्त्र उम्मेदवार शानदारले सानदार जित हासिल गरेका छन् । यो समाचार हो काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिकाको ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र तर्फका उम्मेदवार आकाश धिताल निर्वाचित भएका छन् । स्वतन्त्र तर्फबाट धारा चिन्ह लिएर मतदाता समक्ष पुगेका उन ३८ मत बढी ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
वडा अध्यक्षमा नेकपा एमालेका राजेन्द्र खड्काको ४७४ मत लाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार धारा चिन्हका आकाश धितालले कुल ५१२ मतले निर्वाचित हुन सफल भएका छन् । त्यसै गरी नेपाली काँग्रेसले भने ३२१ मत र नेकपा एसले २७४ मतले तेस्रो र चौथो स्थान पाएको छ ।
अघिल्लो स्थानीय चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका आकाश धितालले विजय पाउँदा सबैभन्दा धेरै मत ल्याएका थिए । पाँच वर्ष बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का विकासका गतिविधिमा काम गर्दा आकाशले आफूलाई अझै राम्रो र सर्वपक्षीय बनाए ।
नेपाली काँग्रेसले उनलाई उम्मेदवार नबनाएपछि स्थानीय युवाहरू आकाशको पक्षमा बोल्न थाले । आकाशलाई चुनावी मैदानमा धकेलिन अभिप्रेरित गरे । युवाहरूको जोस तथा वडावासीको सद्भावमा आकाश स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनावी मैदानमा छिरे । आकाशको पक्षमा काँग्रेसदेखि एमालेसम्मका युवाहरू जिताउन सक्रिय भएका थिए ।
यो पनि, जारी मतगणनामा एमालेको चरम असन्तुष्टि
नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ ।एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो ।
मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।
यस्तै मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको एमालेको दाबी छ ।
सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको भन्दै एमालेले लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गर्ने काम भएको समेत आरोप लगाएको छ ।
यस्तै मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।‘हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं’, एमालेको विज्ञप्तिमा भनिएको छ ।
मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले) ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको पनि एमालेको दाबी छ ।
एमालेले भन्यो–सत्ता गठबन्धनले तीन चरणमा धाँधली गर्यो
नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा पनि धाँधली गरेको आरोप लगाएको हो ।
सत्ता गठबन्धनबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै एमालेले त्यसका बाबजूद पार्टी निर्वाचनमा उभिएको जनाएको छ ।मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको भन्दै एमालेले ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको दाबीसहित यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग समेत गरेको छ ।
विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको एमालेले आरोप लगाएको छ ।
एमालेले यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको भन्दै एमालेले निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूको निरन्तर आचारसंहिता विपरीत कार्यप्रति खेद व्यक्त गरेको छ ।
निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको पनि एमालेको भनाइ छ ।‘मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।