
काठमाडौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनभयो ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनु भएको हो ।
उहाँले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको पनि बताउनु भएको छ ।माओवादीले ‘जसको नीति उसको नेतृत्व’ भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उहाँको भनाई छ ।
प्रचण्डले अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै मत दिएर जिताउन पनि आम मतदातालाई अपील गर्नुभएको छ । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग स्थानीय तह निर्वाचनका केन्द्रीत रहेर गरिएको कुराकानी–
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोश्रोपटक देशैभरका ७ सय ५३ पालिकामा एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ, निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ?
सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुुस गरेको छु ।
यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर यसपटकको निर्वाचन महत्वपूर्ण छ ।
किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी, समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरु जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा पर्यो । हामी सबैलाई थाहा छ, प्रतिगमन विरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।
अहिले पनि दुइटा गठबन्धन जस्तो भएको छ, दुइटा मोर्चा जस्तो भएको छ यसपटकको निर्वाचनमा । एकातिर संविधानका मूलभूत विशेषता र मान्यतालाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र त्यस किसिमको मोर्चा अगाडि आएको छ भने अर्कोतिर प्रतिगमनविरोधी आन्दोलनको क्रममा लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रको रक्षा गर्ने भनेर गठबन्धन बन्यो– वाम लोकतान्त्रिक गठबन्धन । यी दुई गठबन्धन आमनेसामने छन् ।
त्यसकारण यो पटकको निर्वाचनको मूलभूत विशेषता संविधानका उपलब्धिहरुलाई रक्षा गर्ने र अझ परिमार्जन गर्ने एउटा विचार, प्रवृत्ति । अर्कोतिर, यो संविधानलाई उल्ट्याउन खोज्ने र देशलाई कही न कही पछाडि धकेल्न खोज्ने प्रवृत्ति अर्कोतिर भएर चुनाव भइरहेको छ ।
बीचमा अरुहरु जो साना पार्टीहरु छन्, तिनीहरुको खासै यसमा तात्विक भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण एउटा प्रतिगमनकारी र अर्को अग्रगमनकारी बीचको संघर्ष नै यसपटकको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनसम्म पुग्दा पनि यही दुइटा प्रवृत्ति र दुइटा मोर्चाकै बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ ।
अब निर्वाचनको दिन आउन १० दिन मात्रै बाँकी छ, तपाई माओवादी केन्द्रको अध्यक्ष र सत्तारुढ गठबन्धनको प्रमुख नेताको हैसियतले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने सम्भावना कति देख्नुभएको छ ?
हामीले जहाँ-जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ ।
अर्को हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं ।
कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएको हुनाले मलाई लाग्छ, गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।
निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा माओवादीले जसको नीति उसको नेतृत्व भन्यो तर नेतृत्व त छोडियो भन्ने आलोचना छ नि ? यो नारा कसरी कार्यान्वयन हुन्छ ?
यो विषय अलि गम्भीर र संवेदनशील विषय छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्धाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ ।
तपाई हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ ।