
काठमाडौं ।
टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् ।
एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् । ‘म रहरले सञ्चारकर्मी भएको हुँ ।
तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’
उनले आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि बताएका छन् । सोही अनुसार उनी बिहीबार नै कार्यरत टेलिभिजनबाट बाहिरिएका थिए ।
‘म राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला’, लामिछानेले भने, ‘म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु ।
तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ ।’लामिछानेले देश निर्माणका लागि आफूसँग केही रहेको बताउँदै जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्ने बताए ।
‘भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ’, उनले भने, ‘अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।’लामिछानेले रहरले आफू सञ्चारकर्मी भएको र परिस्थितिले राजनीतिज्ञ बन्न खोजेको बताए ।
लामिछानेको भनाइ जस्ताको जस्तै :आजबाट म सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिँदैछु । एउटा सञ्चारकर्मीको रुपमा मैले सकेको गरेँ । के गरेँ, कति गरेँ तपाईँ दर्शकहरुसँग त्यसको हिसाब छ ।
र, मलाई त्यो हिसाव कहिल्यै पनि चाहिँदैन । यदि मैले केही राम्रै गरेको रहेछु भने पनि त्यसको ब्याज कहिल्यै माग्ने छैन । सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ ओगट्न खोजिँन, बरु आफ्नै छुट्टै र अलग्गै ठाउँ निर्माण गर्ने कोशिस गरेँ ।
यो कोशिसमा मैले सँधै सिधा कुरा नै गरिरहेँ । र आज अर्को सिधा कुरा गर्न आज देखिएको छु । अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहन्छु ।
म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु । यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन ।
यो समाजलाई मेरोतर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो । मैले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा म नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहान्छु र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु ।
मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला । म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु । तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन ।
तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ । यदि यति नै पर्याप्त छ भने आउनुहोस् यही असार ७ गते सभागृहमा । त्यहाँ बसेर नयाँ मार्ग कोर्नेबारे सल्लाह गरौँ ।
वर्षातको समय छ, पानीपर्ला हुरी चल्ला, चट्याङ पर्ला–मसँग त तपाईँलाई दिने छाता पनि छैन । तर, केही यस्ता योजनाहरु छन् जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्छ ।
भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ । अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।
यो पनि हेर्नुहोस, घनश्यामलाई ओलीको जवाफ : समयक्रममा हिसाब हुन्छ
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर नेतृत्वलाई बदनाम गराउनेको समयक्रमा हिसाब किताब हुने बताएका छन् ।काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई दानवीकरण गर्न र अलोकप्रिय बनाउन एमालेकै नेताहरु लागि परेको दाबी गरे ।
उनले कसैको पनि नाम उल्लेख नगरी पार्टी र नेतृत्व बदनाम गर्नेहरुलाई समयले नछोड्ने चेतावनी दिए ।एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीमाथि कडा टिप्पणी गर्दै आएका छन् । यस्तै क्रममा उनले बुधरबार मात्र पनि संसद विघटन र नेकपा विभाजनमा ओलीले जिम्मेवारी लिनुपर्ने बताएका थिए ।
भुसालको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले भने, ‘पार्टी नेतृत्वलाई कसरी मदनाम गर्न सकिन्छ, विस्तापित गर्न सकिन्छ, दानवीकरण गर्न सकिन्छ, कसरी अलोकप्रिय बनाउन सकिन्छ । ती कामहरु पार्टीभित्र बसेर भइरहेको छ । त्यसको समय क्रममा समयले हिसाब किताब गर्ने छ । त्यमसा धेरै चिन्ता नगरौं ।’
भुसालप्रति संकेत गर्दै ओलीले पार्टीको ओहोदामा बसेर पार्टीकै बेइज्त गर्न लागि परेकाके आरोप लगाए । ‘कतिपय व्यक्ति पार्टीमा बसेका छन् । पार्टीले दिएका पद ओहोदा र सुविधाको उपभोग गरिरहेका छन्,’ ओलीले भने, ‘त्यो हैसियत प्रयोग गरिरहेका छन् । पार्टीको कसरी अपमान हुन्छ, पार्टीको कसरी बेइज्जत हुन्छ, पार्टीको कसरी अपमान हुन्छ । हो त्यही त्यही काम पनि गरिरहेका छन् ।’