News Portal

६ ‘प्रधानमन्त्री’ को चुनावी लेखाजोखा- तीनजनालाई छैन डर, बाँकी तीनलाई गठबन्धनकै भर

एनपर्दा संवाददाता
१३२७ पटक

काठमाडौं ।

केहीदिनअघि सामाजिक सञ्जालमा देउवासहित ६ जनाको तस्बिरअंकित पोष्टर भाइरल गराइयो ।पोष्टरमा थिए प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं प्रस्तावित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल ।

पोष्टरको मध्यभागमा ‘नो, नट अगेइन’ लेखिएको थियो, अर्थात ‘होइन, फेरि होइन’ ! उक्त प्रचार सामग्रीको लक्ष्य थियो-आगामी निर्वाचनमा उनीहरूलाई हराउने र फेरि प्रधानमन्त्री हुन नदिने ।

पोष्टरको माथिल्लो भागमा ‘जे जति गर्‍यौ, धन्यवाद’ र तल्लो भागमा ‘अब पालो अरु कसैको, स-सम्मान बिदाबारी निर्वाचन २०७९’ उल्लेखित छ । सामाजिक सञ्जालमा चलाइएको यो अभियानका पछाडि दृश्यअदृश्य शक्तिहरू पनि छन् । सँगै राजनीति र नेताहरूसँग असन्तुष्ट भीड पनि छ ।

‘लहड’ मा चलाइएको यो अभियानले सार्थकता पाउला-नपाउला, त्यसका लागि आगामी प्रतिनिधिसभाको निर्वाचन कुर्नैपर्छ ।यो अभियानले भनेजस्तो गरी प्रधानमन्त्री भइसकेका व्यक्तिहरूलाई निर्वाचन हराउन कत्तिको सम्भव छ ? भन्ने धेरैको चासो छ । उनीहरू आफ्नै निर्वाचनमा कति सुरक्षित छन् ? गठबन्धनको सहारामा कति जोगिने ध्याउन्नमा छन् भन्ने विषय हामीले पहिल्याउने कोसिस गरेका छौं । जसलाई हालै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा अनुसार विश्लेषण गरिएको छ ।

डडेलधुराका ‘डन’ देउवा !
केहीवर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको आक्रोशमा परेका गुल्मीका सागर ढकाल देउवासँगै चुनाव लड्ने भन्दै डडेलधुरा हानिएका छन् । उनले आफ्नो एकमात्र उद्देश्य देउवालाई नै हराउने रहेको बताउँदै आएका छन् ।

देउवाले लगातार ६ वटा चुनाव डडेलधुराबाटै जितिसकेका छन् । जस्तोसुकै परिस्थितिमा पनि निर्वाचन जितेका उनको यो शक्तिले उनी पाँच पटक प्रधानमन्त्री पनि भइसके ।

२०६४ सालको निर्वाचनमा देशैभर तत्कालीन नेकपा माओवादीले जितिरहँदा तमाम शीर्ष नेता हारेका थिए । तर, देउवा डडेलधुरा र तत्कालीन कञ्चनपुर-४ बाटै सहजै निर्वाचन जितेका थिए ।

२०७४ मा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन (बामगठबन्धन) को देशैभर जितको लहरमा डडेलधुरामा देउवाको जित ‘अपवाद’ जस्तो देखिएको थियो । देउवाले २८ हजार ४४६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खगराज भट्ट २१ हजार ४९८ मत ल्याएका थिए ।

त्यसअघि सम्पन्न भएको स्थानीय तहको मतपरिणाम हेर्ने हो भने, कांग्रेसले पाएको मतभन्दा बामगठबन्धनका दलहरूले पाएको मतको योगफल १२ हजारभन्दा बढी थियो । यस्तो विकराल अन्तर उल्टाउँदै देउवाले ६ हजार ९४८ मतान्तरले चुनाव जितेका थिए ।

यसपटकको समीकरणले झन देउवालाई परास्त गर्न सहज छैन । समीकरण जताबाट हेरेपनि उनकै पक्षमा देखिन्छ । कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले विद्रोह गर्दै नेपाली कांग्रेस (बिपी) मा प्रवेश गरी नेकपा एमालेसँग तालमेल गर्दापनि वैशाख ३० गते सम्पन्न डडेलधुराका ५२ वडामध्ये २९ कांग्रेसले जितेको छ । कांग्रेसबाहेक एमालेले ४ वडा, माओवादी केन्द्रले १३ वडा, स्वतन्त्रले २ वडा, नेकपा एसले २ वडा र कांग्रेस बिपीले २ वडामात्रै जितेका छन् ।

प्राप्त मतपरिणामअनुसार पनि एक्लाएक्लै कांग्रेसको छेउ कोही दलपनि पुग्दैनन् । कांग्रेसका प्रमुखहरूले कुल २२ हजार १३९ मत प्राप्त गर्दा वडाध्यक्षहरूले २१ हजार ७३५ मत पाएका छन् ।

सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रले डडेलधुरामा दोस्रो जनमत बटुलेको छ । प्रमुख तथा अध्यक्षको योगफलमा १२ हजार ९१२ मत बटुल्दा वडाध्यक्षमा १२ हजार ८७८ मत उसले बटुलेको छ ।तेस्रो जनमत एमालेले बटुलेको छ । उसले पालिकाका प्रमुख/अध्यक्षमा ७ हजार ४५० मत बटुल्दा वडाध्यक्षमा वडाध्यक्षमा १० हजार ४४९ मत प्राप्त गरेको छ ।

एमालेबाट विभाजन भएको दल नेकपा एसले पालिका अध्यक्ष/प्रमुखमा ४ हजार ९८२ मत प्राप्त गर्दा वडाध्यक्षहरूमा ५ हजार ४१ मत बटुलेको छ भने, कांग्रेस बिपीले प्रमुख÷अध्यक्षमा ६ हजार ४१६ मत र वडाध्यक्षमा ३ हजार ६०४ मतमात्रै प्राप्त गरेको छ ।

यो समीकरणअनुसार सत्तारूढ गठबन्धन हुँदा, एक्लाएक्लै लड्दा वा आंशिक समीकरण हुँदामात्रै देउवालाई हराउने योजना कुनैपनि हालत सम्भव देखिन्न । तर, सबै शक्ति एकठाउँमा आउनसके मात्र केही समीकरण बन्ने देखिन्छ । त्यो सम्भावना देखिदैन । यस्तो भइहालेपनि विगतमा त्यसलाई उल्टाएर जितेको देउवाको इतिहास छ ।

झापामा ओजिला ओली ! गठबन्धन हुँदा नि नहार्ने समीकरण
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचन २०७४मा झापा क्षेत्र नम्बर-५बाट निर्वाचित सांसद हुन । उनले सो क्षेत्रबाट ५७ हजार १३९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ प्राप्त गरेका थिए । यसरी ओली र अधिकारीबीचमा २८ हजार ८४२ मतान्तर कायम भएको थियो ।

यद्यपि यो निर्वाचनमा अधिकारी कांग्रेसको एक्लो शक्तिमा चुनाव लड्दा एमाले अध्यक्ष ओलीलाई नेकपा माओवादी केन्द्र र राप्रपाको पनि समर्थन थियो ।

जेसुकै भएपनि यो निर्वाचन क्षेत्रमा एमाले एक्लै निकै बलियो छ । झन् प्रधानमन्त्रीको बन्ने लाइनमा रहेका ओली उसैपनि थप शक्तिशाली हुने नै भए । यो निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ वडा र गौरिगञ्ज गाउँपालिकाका ४ वटा वडा गरी २९ वटा वडा समावेश छन् ।

अहिलेको स्थितिमा पनि एक्लै एमाले यहाँ निकै बलियो देखिन्छ । जसमा ओलीको व्यक्तिगत ओजले पनि यहाँ उनलाई हराउन सकिने स्थिती सहज देखिँदैन ।ओलीको गृहनगर दमकमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको गठबन्धनले मेयर र उपमेयरमा एमालेलाई हराएको छ । वडाको नतिजा भने एमालेकै पक्षमा छ । यहाँका १० वडामध्ये ७ एमाले, २ मा कांग्रेस र १ मा राप्रपा जितेको छ ।

यस्तै सत्तारूढ गठबन्धनको बलमा कमल गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष जितेको छ । तर, उपाध्यक्षमा एमाले नै जितेको छ । वडामा यहाँपनि एमाले एक्लैले ४ वडा जित्दा सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले १/१ वडा जितेका छन् ।

यस्तै यस निर्वाचन क्षेत्रमा रहेका गौरादह नगरपालिकाका ८ वडामध्ये ४ मा एमालेले जितेको छ भने, २ मा कांग्रेस, १ मा माओवादी केन्द्र र १ मा स्वतन्त्रले जितेका छन् ।

गौरीगञ्ज गाउँपालिकाका चार वडामध्येमा पनि ३ मा एमाले जित्दा १ मा कांग्रेस जितेको छ ।स्थानीय तह निर्वाचनको नतिजाअनुसार एक्लाएक्लै एमाले निकै शक्तिशाली देखिदाँ सत्तारूढ पाँचदलीय गठबन्धनको शक्तिले मात्रै यहाँ एमालेलाई हराउन कठिन देखिन्छ ।

यहाँ एमालेको वडाध्यक्ष उम्मेदवारहरूले कुल ४१ हजार ६१९ मत बटुलेका छन् । जसमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २२ हजार २१, माओवादी केन्द्रका वडाध्यक्षहरूले १० हजार ७८८ र नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले एकहजार ८६० मतमात्रै पाएका छन् । जसको कुल योग ३४ हजार ६६९ मात्रै हुन्छ ।

यहाँ राप्रपाका वडाध्यक्षहरूले पाएको मतको कुल योग ८ हजार ४०१ छ । सो मत सत्तारूढ गठबन्धनतर्फ जाँदा मात्रै एमालेका लागि केही सकस पर्नसक्ने देखिन्छ ।

यद्यपि दुईपल्ट प्रधानमन्त्री भइसकेको र फेरी पनि प्रधानमन्त्रीकै लाइनमा रहेको व्यक्ति उम्मेदवार हुँदा यो समीकरणले कति काम गर्छ ? त्यो भने निर्वाचनमा नै भर पर्नुपर्ने हुन्छ । जे भएपनि एमाले अध्यक्ष ओलीलाई हराउने अभियान सफल बनाउन यहाँ फलामको च्युरा चपाउनु सरह नै हुने अवस्था देखिन्छ ।

रौतहटमा ‘सुरक्षित’ माधव
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल २०७०को संविधानसभा अघिसम्मका निर्वाचनमा काठमाडौं-२ र रौतहट-१ दुवै ठाउँबाट निर्वाचन लड्थे । दुवै क्षेत्रमा उनले जीतहारका अनुभव संगालेका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी काठमाडौं-२ बाट चुनाव लडेका थिए । संविधानले एउटामात्र निर्वाचन क्षेत्रबाटमात्रै निर्वाचन लड्न पाउने प्राबधान बनाइदिएपछि उनले काठमाडौं नै रोजे । बामगठबन्धनको बलमा नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए । उता उनले छाडेको रौतहट-१ मा भने तत्कालीन राष्ट्रिय जनता पार्टीले बाजी मारेको थियो ।

अध्यक्ष नेपालका लागि अहिले परिस्थिति फेरिएको छ । विगतमा उनी चुनाव लड्दै आएको र लामो समय नेतृत्व गरेको पार्टी एमाले छाडेर उनले नयाँ पार्टी नेकपा एस निर्माण गरेका छन् । जसबाट उनी यसपटक निर्वाचन लड्न गइरहेका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं-२ मा उनको पार्टी निकै कमजोर देखिएको छ । यसकारण अध्यक्ष नेपालको ध्यान अहिले रौतहट-१ तिर रहेको उनका निकटस्थहरू बताउँछन् । जहाँ स्थानीय निर्वाचनले उनका लागि केही आशाको किरण प्रदान गर्ने काम पनि गरेको छ ।

यो निर्वाचन क्षेत्रमा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ३ वडा र गरुडा नगरपालिकाको १ वडा समावेश छन् । जहाँ कुल ४१ वडा पर्दछन् ।

यी ४१ वडामा एक्लैएक्लैमा नेकपा एस नै सबैभन्दा बलियो देखिएको छ । वडा जितका हिसाबले नेकपा एसले १७ वडा, कांग्रेसले ९, माओवादी केन्द्रले ५, जसपा, एमाले र लोसपा ३-३, स्वतन्त्रले १ वडा जितेका छन् ।

वडाध्यक्षहरूको योगफलका आधारमा पनि एक्लै नेकपा एस नै बलियो देखिएको छ । एसका वडाध्यक्षका उम्मेदवारहरूले सबैभन्दा बढी १९ हजार ६९८ मत प्राप्त गर्दा दोस्रोमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले १६ हजार ९२८ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रोमा लोकतान्त्रिक समाजवादी पार्टी छ । जसका वडाध्यक्षका उम्मेदवारहरूले १२ हजार ९१ मत प्राप्त गर्दा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ७ हजार ४३५ मत प्राप्त गरेका छन् । त्यसपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले ५ हजार ६६३ र जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष वडाध्यक्षका उम्मेदवारहरूले ६ हजार ६४८ मत प्राप्त गरेका छन् ।

नेकपा एसले यही निर्वाचन क्षेत्रका गौर र राजदेवी नगरपालिकामा मेयरमा फराकिलो अन्तरले निर्वाचन समेत जितेका छन् । जसले पार्टीगत रुपमा उसलाई निकै बलियो देखाएको छ ।

यसरी नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपाल आफ्नो निर्वाचन क्षेत्रमा एक्लाएक्लै लड्दा सुरक्षित देखिन्छन् । साथै सत्तारूढ गठबन्धन दलहरूबीच हुँदापनि उनी झन् सुरक्षित देखिन्छन् । तर, सत्तारुढ दलहरूबीच गठबन्धन नभई अन्य दलहरूबीच गठबन्धन भएर नेकपा एसलाई एक्लै पारेमात्रै उनी असुरक्षित हुनसक्छन् ।

गठबन्धन जोगाउनुपर्ने ‘प्रचण्ड’ को बाध्यता
दुई पटकका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भने आगामी निर्वाचनमा पनि कांग्रेसकै भर पर्नुपर्ने निश्चित छ । एक्लै लड्दा उनी ‘डेन्जर जोन’ मा छन् ।

उनको निर्वाचन क्षेत्र चितवन-३ हो । जहाँ उनी २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा जितेका थिए । उतीबेला उनले ४८ हजार २७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको तालमेलमा लडेका राप्रपाका बिक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र माडी नगरपालिकाका सबै नौ वडा समावेश छन् ।

गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनको सहारामा प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगर मेयरमा पुनः निर्वाचित भएकी छन् । यद्यपी उनको जीत गठबन्धनकै भरमा सम्भव देखिएको वडागत नतिजाले पनि देखाउछ ।

प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । यस्तै एमाले र माओवादी केन्द्रले ३-३ वडा जितेका छन् भने नेकपा एसले २ र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यस्तै माडी नगरपालिकामा राप्रपा र एमालेको गठबन्धनबाट एमालेले मेयर जितेको छ । उपमेयरमा भने कांग्रेस जितेको छ । वडागत नतिजामा माओवादी केन्द्रले ४, राप्रपा र नेकपा एसले २/२ र एमालेले १ वडा जितेको छ ।

योसँगै प्रचण्डको यो निर्वाचन क्षेत्रका २८ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेस, ७ वडा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एस ४÷४ वडा राप्रपा २ र स्वतन्त्र १ वडा जितेका छन् ।

वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले पहिलो देखिन्छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २९ हजार ७७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारहरूले २९ हजार ३४३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा १० हजार ९४० मत मात्रै प्राप्त गरेका छन्, भने राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत पाएका छन् । नेकपा एसका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा ५ हजार ३७ मत पाएका छन् भने जसपाले ७२ मत बटुलेको छ ।

यसरी जुनसुकै कोणबाट हेर्दा पनि प्रचण्डलाई निर्वाचन जित्न गठबन्धनकै भर पर्नुपर्ने देखिन्छ । नभए एक्लाएक्लै लड्दा उनलाई हारबाट जोगाउन चितवनका जनताले ठूलै उलटफेर गर्नुपर्ने अवस्था छ ।

झलनाथलाई ‘वैशाखी’ जरुरी
एकपल्ट प्रधानमन्त्री भएका नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर-१ हो । २०७४ सालको निर्वाचनमा बामगठबन्धनको सहयोगमा नेकपा एमालेबाट निर्वाचन लड्दा उनले कांग्रेसका उम्मेदवार भुपेन्द्र कट्टेललाई १७ हजार १६७ मतको अन्तरले पराजित गरेका थिए । खनालले ३६ हजार ८०५ मत पाउँदा कट्टेलले १९ हजार ६३८ मत पाएका थिए ।

एमाले छाडेर यतिबेला उनी नेकपा एसमा छन् । यही हुनुको सबैभन्दा ठूलो खतरा अहिले उनीमाथि नै छ । यदि सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल नभई एक्लाएक्लै चुनाव लड्नुपर्ने अवस्था आए उनी चुनाव नहार्लान भनेर भन्न सकिने अवस्था छैन । गएको स्थानीय तह निर्वाचनले पनि यस्तै समीकरण निर्माण गरेर गएको छ ।

उनको निर्वाचन क्षेत्रमा रोङ गाउँपालिका सबै ६ वडा, सूर्योदय नगरपालिकाका सबै १४ वडा, माईजोगमाई गाउँपालिकाका सबै ६ वडा, सन्दकपुर गाउँपालिकाका सबै ५ वडा, इलाम नगरपालिकाको वडा नम्बर १० र माई नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ९ र १० गरी ७ वडा गरी ३९ वडा समावेश छन् ।

जसमध्ये खनाल आवद्ध रहेको पार्टी नेकपा एसले जम्मा ६ वडा जित्दा सबैभन्दा बढी कांग्रेसले १६ वडा, एमालेले १५ वडा, जसपाले १ वडा र स्वतन्त्रले १ वडा जितेका छन् ।

वडाअध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतअनुसार विश्लेषण गर्दा सबैभन्दा बढी एमालेका उम्मेदवारहरूले २६ हजार २३३ मत बटुल्दा दोस्रोमा कांग्रेसका उम्मेदवारहरूले २५ हजार ७६९ मत बटुलेका छन् । नेकपा एसका उम्मेदवारहरूले जम्मा ९ हजार ४८१ मत मात्रै पाउँदा माओवादी केन्द्रका उम्मेदवारले एकहजार २३५ र जसपाका उम्मेदवारहरूले एकहजार ७२९ मतमात्रै पाएका छन् ।

यसरी यो समीकरण केलाएर हेर्दा नेकपा एसकै उम्मेदवार भएर एक्लै लड्दा यसपटक पूर्वप्रधानमन्त्री खनालको प्रतिनिधिसभा यात्रामा बिराम लाग्नसक्ने खतरा देखिएको छ । उनले जित्नका लागि कांग्रेस वा एमालेकै वैशाखी नलिने हो भने उनको हार निश्चितप्रायः देखिन्छ ।

बाबुरामलाई कांग्रेस वा माओवादी केन्द्रकै भर
पूर्बप्रधानमन्त्री एवं प्रस्तावित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको आगामी प्रतिनिधिसभा यात्रा सबैभन्दा बढी संशयपूर्ण ठानिएको छ । दलबदल गर्दै हिडिरहँदा यतिबेला उनको राजनीतिक यात्रा सबैभन्दा कठिन बिन्दुमा खडा भएको छ ।

माओवादीको १० वर्षे सशस्त्र युद्धताका वैचारिक नेताका रुपमा छवी बनाएका उनी २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी फराकिलो अन्तरले गोरखाबाट जितेका थिए । त्यसयताका अन्य २ निर्वाचनमा पनि उनी हारेका छैनन् ।

गोरखा-२ उनको निर्वाचन क्षेत्र हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट लड्दा कांग्रेसको साथ पाएर ३१ हजार ८०७ मतसहित विजयी भएका थिए । उतिबेला बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ २४ हजार ९३३ मतमा रोकिएका थिए ।

यो निर्वाचन क्षेत्रमा भट्टराईको गृहनगर पालुङटारका १० वडा सबै, सिरानचको गाउँपालिकाका ८ वडा सबै, अजिरकोट गाउँपालिकाका ५ वडा, बारपाक सुलिकोट गाउँपालिकाका ८ वडा सबै र गोरखा नगरपालिकाका वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ गरी ७ वडा सहित कुल ३८ वडा समावेश छन् ।

यो निर्वाचन क्षेत्रमा गएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र जबरजस्त रुपमा हावी देखिएको छ । यो क्षेत्रमा समेटिएका पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिकामा उसले जित निकाल्दा सिराञ्चोक गाउँपालिकामा मात्रै कांग्रेस जितेको छ ।

३८ वडामध्येमा पनि १८ वडा माओवादी केन्द्रले जित्दा १७ मा कांग्रेस जितेको छ । बाँकी ३ वटा वडा मात्रै भट्टराई संलग्न रहेको तत्कालीन पार्टी जसपाले जितेको छ ।

वडाध्यक्षले पाएको कुल मतका आधारमा पनि कांग्रेसभन्दा झिनो मतले माओवादी केन्द्र नै अगाडि देखिएको छ । उसका उम्मेदवारहरूले कुल २१ हजार ८५५ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २१ हजार ९६ मत प्राप्त गरेका छन् ।

तेस्रो बढी मत एमालेका उम्मेदवारहरूले बटुलेका छन् । जसमा ७ हजार ९२६ मत छ । त्यसपछि मात्रै तत्काल भट्टराई रहेको दल जसपाका वडाध्यक्षका उम्मेदवारहरूले ७ हजार ५०४ मत बटुलेको देखिन्छ ।

यो समीकरण अनुसार पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि यसपटक प्रतिनिधिसभाको यात्रा तय गर्न कांग्रेस वा उनले छाडेको दल माओवादी केन्द्र कै भर पर्नुपर्ने देखिएको छ । एमालेसँगको गठबन्धनले मात्रै पनि यो निर्वाचन क्षेत्रमा उनको जित निश्चित देखिँदैन । यही कारण उनी आफूले नयाँ पार्टी गठन गरेपनि पाँचदलीय गठबन्धनभित्रै रहने बताउँदै आएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...