
काठमाडौं ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
माओवादी केन्द्रीय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताइन् । निर्वाचनपछि गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने उनको भनाई थियो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले तीन महिने अभियान सञ्चालन गरेको अखिल (क्रान्तिकारी)ले सुदूरपश्चिम, लुम्बिनी, कर्णालीसहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमती प्रदेश र मधेश प्रदेशका भेला र कार्यक्रमहरु साउन महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।
मुलुक गम्भीर संकटमा पर्दैछ अर्थात राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु: डा. बाबुराम
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।
सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् ।
वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’
उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् ।
‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे बताएका छन् ।
सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ ।
‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’
देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ । उनले घुमाउरो पारामा देशमा फेरि राजसंस्था फर्किन सक्ने बिचार व्यक्त गरेको प्रष्ट बुझ्न सकिन्छ जुन हुन पनि सक्छ नहुन पनि सक्छ ।