
काठमाडौ ।
सिड्नीमा मेहनत गरेर काम र अध्ययनलाई अगाडि बढाएकी नेपाली विद्यार्थी सपना (नाम परिवर्तन) ले सोमबार एकाएक फोन गरिन् र भनिन्, ‘दाजु आज आमा बुबालाई प्रहरीले मेरो घरमा फोन गरेर बैंकमा जम्मा भएको पैसा कसरी आयो भनेर सोधेछ किन?’
सपनाले एक लोकल हुन्डीवालमार्फत आफूले चार महिनामा कमाएर बचाएको पैसा आमा बुबालाई पठाएको भोलिपल्ट प्रहरीले उनका बुबा आमालाई सोधखोज गरेको रहेछ।
‘मेरो परिचयपत्र र ठेगाना दिएर यताबाट पठाएको पैसाको उताबाट किन सोधपुछ गर्नू?’, उनले गुनासो गरिन्। उनलाई अझै पनि आफूले मेहनेत गरेर कमाएको पैसा आधिकारीक बाटोमार्फतनै नेपाल गएको भन्ने लागिरहेको थियो।
अस्ट्रेलियामा अध्ययन गर्न आएका करिब ७० हजार नेपाली विद्यार्थीमध्ये अधिकांशले हुन्डीबाटै पैसा पठाउने गरेको एक तथ्यांकले देखाउँछ। यसरी दैनिक हजारौं विद्यार्थीले एक दुई रूपैयाँको लोभमा थाहै नपाई वा लहलहैमा लागेर लाखौं डलर नेपाल पठाइरहेका छन्।
पछिल्लो समय यसबारे नेपाल सरकारले पनि चासो देखाउन थालेको छ। यसरी खातामा अचानक आएको पैसाको स्रोत नदेखिएपछि सम्पती सुद्धिकरणमार्फत प्रहरीले विदेशबाट पैसा आए लगत्तै सम्बन्धित खातावालालाई सोधपुछ गर्न सुरू गरेको छ।
अष्ट्रेलियामा दु:ख गरेर कमाएको पैसा वैधानिक रूपमा नपठाउँदा हुन्डीवालाले खाइदिएका पनि कयौं घटना छन्। ‘मेलबर्न हुन्डी काण्ड’ का रूपमा चर्चित यसमा कयौं नेपालीले लाखौं रूपैयाँ डुबाएका छन्।
हुन्डीवालाको समाजिक प्रभावका कारण पनि मानिसहरू झुक्किरहेको देखिन्छ। संघ संस्थामा बसेर समाज सेवा गरेजस्तो गर्दै आफ्नो प्रभाव जमाउन उनीहरू सक्षम भएकोले पनि अस्ट्रेलियामा हुन्डीको प्रभाव घट्न नसकेको एक अभियन्ताले बताए।
अवैधानिक रूपमा रेमिट र हुन्डीले एप्स बनाएर आफूलाई आधिकारीक भनि सामाजिक सञ्जालमा प्रचार गरेर केही बढी रेट दिएकाले विद्यार्थीहरू उनीहरूको पछि लागेको विद्यार्थी सुरज शाहीले बताए।
यसरी पठाएको रकमको आम्दानीको स्रोत नेपालमा नदेखिने भएकाले अख्तियार वा सम्पति शुद्धिकरणले कारबाहीको दायरामा ल्याउन सोधपुछ गर्नसक्छ। यताबाट नेपाल पठाएको पैसा आम्दानीका रूपमा देखिन आफ्नै बैंक खाताबाट नेपालमा रहेका आफन्त वा परिवारको बैंक खातामा जम्मा भएको हुनुपर्छ।
यताबाट पठाएको रकमबाट नेपालमा कुनै जग्गा जमिन किन्नेले आम्दानीको स्रोत देखाउनुपर्ने भएकाले मालपोत कार्यालयमा पनि झमेलामा पर्ने देखिन्छ। यदि १० लाख रूपैयाँ भन्दा बढी रकम नेपालको बैंकमा जम्मा हुँदा आम्दानीको स्रोत अनिवार्य देखाउनुपर्ने हुन्छ। हुन्डीबाट पठाइएको पैसाको कुनै स्रोत नदेखिने भएकाले कठिन हुन्छ।
सम्पती सुद्धिकरण अनुसन्धान विभागका निर्देशक ऋषिराम पोखरेलका अनुसार यदि आफूले नेपालमा आएको पैसाको स्रोत देखाउन नसके दुई वर्षदेखि दस वर्षसम्मको जेल सजाय र स्रोत नखुलेको रकमको दोब्बर जरीवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ।
नेपाल राष्ट्र बैंकले पछिल्लो समय वाणिज्य बैंकलाई रेमिट्यान्स कारोबारमा कडाइ गर्न निर्देशन दिएसँगै हुन्डीवालहरू सहकारीको प्रयोग र निजी रकम डिपोजिट गर्दै बेइमानीको धन्धालाई निरन्तरता दिइरहेका छन्।
आफूले कमाएर पठाएको पैसाका कारण परिवारले समेत कानुनी झमेला व्यहोर्नुपर्ने बारे हरेक विद्यार्थी सचेत हुनुपर्ने देखिन्छ। ‘अनौपचारिक माध्यमबाट पठाइएको पैसा अवैध हुन्छ र कानुनी कारबाहीको भागीदार हुनुपर्ने हुन्छ। त्यसैले जानेर बुझेर मात्र आधिकारीक निकायबाट पैसा पठाउनुपर्छ’, उनले भने।
आफूले राष्ट्र बैंकबाट अनुमति लिएर कारोबार गर्ने भन्नेहरू पनि बेइमानीको बाटोमा हिँडेका छन्। केहि पैसा सरकारी च्यानलवाट पठाए पनि अधिकांश ठूलो रकम कमाउने बाटोमा पठाइरहेका छन्।
आज राति १२ बजेपछि राष्ट्रपति निर्वाचनबारे प्रचारप्रसार गर्न नपाइने
राष्ट्रपति निर्वाचनबारे आज राति १२ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ।निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि हुनेछ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।
राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए।
आयोगको गत माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ।
निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न,
मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ।मतदानका दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानमा सहभागी भई हुन समेत मतदातालाई आयोगले आग्रह गरेको छ।