
काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।भेटवार्तामा उनीहरुबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौंका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
त्यसैगरी सुन्दर काठमाडौ बनाउन बालेनलाई प्रचण्डले पूरा सहयोग गर्ने श्रोतले जनाएको छ । सुकुम्बासीलाई नै चित्त बुझ्नेगरि काम अगाडि बढाउन पहल गर्ने दुबै सहमत भएका छन ।
‘चिफ कन्क्लेभ’ तयारी
काठमाडौँ — सेना दिवसको अवसरमा नेपाली सेनाले वर्तमान र पूर्वमानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्ने भएको छ । त्यसका लागि भारतका वर्तमान र अवकाश प्राप्त मानार्थ महारथीहरूलाई बोलाइएको छ ।
नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । ‘हामीले यस पटक विभिन्न कार्यक्रम गरिरहेका छौं, फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी कृष्ण भण्डारीले भने ।
मानार्थ महारथीहरू फागुन ५ मा आएर तीन दिन बस्नेछन् । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति) सहित हुने कार्यक्रममा उनीहरू उपस्थित हुनेछन् ।
नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ ।
कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरूसहित नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू (भारतीय सेनाका मानार्थ महारथीहरू) को उपस्थिति हुनेछ ।
जसमा हालका भारतीय सेनाध्यक्ष मनोज पाण्डेसहित अवकाश प्राप्त सेनाध्यक्षहरू विश्वनाथ शर्मा, शंकर रोय चौधरी, सुन्दरारञ्जन पद्मनावन, निर्मल चन्द्रर भिज, जोगेन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोजमुकुन्द नरवणे रहेका छन् ।
भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाश प्राप्त प्रधानसेनापतिलाई नयाँदिल्लीमा बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले भने पहिलो पटक गर्न लागेको प्रवक्ता भण्डारीले बताए ।‘एक दर्जन मानार्थ महारथीहरूलाई निम्तो पठाइएको छ, भारतबाट को–को आउनुहुन्छ भन्ने केही समयपछि मात्र थाहा हुनेछ,’ उनले भने ।
सेनाका अनुसार नेपालबाट पहिलो पटक मानार्थ महारथीको दर्जा पाउने भारतीय सेनाका स्थल सेनाध्यक्ष केएम करिअप्पा हुन् । सन् १९५० मा नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित भएका थिए ।उक्त परम्परा २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।
राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल र बेल्बासेको चर्चा, जसपाको पनि दाबी
काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालसँगै गंगा बेल्बासेको चर्चा चलेका बेला जनता समाजवादी पार्टीले पनि दाबी गरेको छ । जसपाले पार्टीबाट राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई उपाध्यक्ष बनाउन चाहेको छ ।
माओवादी केन्द्रले भने सांसद अर्याललाई अगाडि बढाउने सम्भावना रहेको छ । पार्टीमा वरिष्ठ भएको र संसदीय दल एवं संसदीय समितिमा जिम्मेवारी नपाएकाले अर्याललाई उपाध्यक्ष बनाउने बताइएको छ । राष्ट्रिय सभामा पार्टीकी सचेतकसमेत रहेकी गंगा बेल्बासेले पनि उपाध्यक्षमा दाबी गरिरहेकी छन् ।
तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले अर्याललाई नै उपाध्यक्षमा अगाडि सार्ने तयारी गरेका छन् । उनी निकट एक नेताका अनुसार अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिन तयार रहन भनिसकिएको छ ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामीले पनि अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी भएको जानकारी आफूले पाएको बताए । उनले पार्टी पदाधिकारीको सोमबार बस्ने बैठकले त्यसको टुंगो लगाउने सम्भावना रहेको बताए ।जसपाका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो पार्टीले राष्ट्रिय सभा उपाध्यक्ष पाउनुपर्ने माग दाहालसँग गरिरहेका छन् ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रस्ताव दर्ता गर्ने माघ २२ मा समय तोकिएको छ भने निर्वाचन माघ २३ मा हुने भएको छ ।परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता।काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नुल्यान्डले पौड्याललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।