
काठमाडौं ।
आईसीसी लिग २ नेपाल, युएई र पपुवान्यूगिनी(पीएनजी) बीच भएको त्रिकोणात्मक ओडिआई सिरिज सकिएसँगै समापन भएको छ। यो सिरिजको च्याम्पियन बनेको नेपालले बिहिबार आफ्नो अन्तिम खेलमा युएईलाई पराजित गर्दै २०२३ विश्वकप क्वालिफायरमा आफ्नो स्थान पनि पक्का गरेको छ।
आईसीसी लिग २ मा स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र पपुवान्यूगिनी(पीएनजी) गरी कुल सात टोलीले प्रतिष्पर्धा गरेका थिए। स्कटल्यान्ड पहिलो हुँदा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहन सफल भयो।
नेपालले बिहिबार त्रिभुवन अन्तराष्ट्रिय मैदानमा भएको खेलमा युइईलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिन सफल भएको हो। यससँगै स्कटल्याण्ड, ओमान र नेपाल २०२३ एक दिवसीय विश्वकपका लागि जिम्बाब्वेमा हुने क्वालिफायरका लागि छनोट भएका छन्।
बिहिबार भएको खेलमा नेपालले युएईलाई डकवर्थ लेविस मेथडका आधारमा ९ रनले पराजित गरेको हो। युएईले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३ सय १० रनको विशाल स्कोर खडा गरेको थियो।
३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुन: सुरु हुन नसक्दा नेपाल ९ रनले विजयी घोषित भएको हो।
नेपाल क्रिकेट इतिहास मै सबैभन्दा महत्वपूर्ण मध्ये एक मानिएको बिहिबारको खेल हेर्न सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) पनि पुगेका थिए। खेल सम्पन्न हुँदा सम्म उनी मैदानबाट बाहिरिसकेको भएपनि खेलको अन्तिम समय के भयो भन्ने प्रचण्डलाई राम्रोसँग थाहा भयो।
बिहिबारको खेल मैदानमा फ्लडलाइट नभएको कारण खराब प्रकाशले गर्दा पूरा हुन सकेन। यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन्। उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई फ्लडलाइट र स्कोर बोर्ड तत्काल जडान गर्न निर्देशन दिएका हुन्।
अध्यक्ष नेपाल एमालेको राष्ट्रपति प्रस्ताव अस्वीकार गरेपछि उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार बनेका छन् । आठ दलीय गठबन्धनबाट भने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । आठ दलीय गठबन्धनमा रहेका मतदाताको सङ्ख्या हिसाब गर्दा राष्ट्रपतिमा पौडेल निर्वाचित हुने लगभग निश्चित जस्तै छ ।फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनपछि सरकार पुनर्गठन गर्ने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।
मन्त्रिमण्डल पुनर्गठनका बेला एकीकृत समाजवादीले महत्त्वपूर्ण मन्त्रालयहरू अर्थ, भौतिक योजनालगायतको दाबी गर्न सक्छ । त्यसबाहेक नेता नेपालको पार्टीले केही मुख्यमन्त्रीको पनि दाबी गर्न सक्छ तर त्यो दाबी पनि कमजोर हुने देखिन्छ ।
यस्तो अवस्थामा राजनीतिक र संवैधानिक दुवै पदमा कर्नरमा पर्ने देखेर नै हुन सक्छ अध्यक्ष नेपालले पछिल्लो समय एमाले समेतको राष्ट्रिय सहमतिको सरकारको कुरा गर्न थालेका छन् ।
यही आइतबार फागुन १४ मा जनकपुर पुगेर अध्यक्ष नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने अभिव्यक्ति दिए ।प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका उनले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन । तर, एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ ।’
काँग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको नेपालको भनाइ छ । ‘काँग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि बन्थ्यौँ,’ उनले भने, ‘तर राष्ट्रपति बन्नकै लागि मरिहत्ते गर्नुलाई उचित ठानिनँ ।’
तर एमाले सचिव योगेश भट्टराई आठ दलीय गठबन्धनको सरकारमा एमाले सहभागी हुने कुनै सम्भावना नरहेको बताउँछन् । ‘अहिले एमाले यो गठबन्धनको सरकारमा सहभागी हुदैन । प्रतिपक्षमै बस्छ’, सचिव भट्टराई भन्छन्, ‘एमालेसहितको सरकार उहाँहरूले नै टुटाएको हो ।’
त्यस्तै सचिव भट्टराईले एकीकृत समाजवादीले पुरानो गठबन्धनब्युँताउन जति प्रयास गरे पनि गठबन्धनभित्र शक्ति बाँडफाँटमा उसको भूमिका कमजोर र कर्नरमा परेको आफूले महसुस गरेको बताए ।
‘माधव नेपाललाई हामीले गोल्डेन प्रस्ताव गरेका हौँ । तर उहाँले अस्वीकार गर्नुभयो । पुस ९ गते पनि हाम्रो अध्यक्षले कुरा गर्न खोज्दा उहाँले कुरा गर्न खोज्नुभएन र एउटा मौका गुमाउनुभयो’, सचिव भट्टराईले भने, ‘दोस्रो मौका उहाँलाई राष्ट्रपतिको उम्मेदवार भनेर प्रस्ताव गर्दा पनि अस्वीकार गर्नुभयो ।’एकातिर वामपन्थी एकताका लागि कार्यदल गठन गर्ने, अर्कोतिर काँग्रेस गठबन्धनमा बस्ने नेपालको गतिविधिले कहीँ नपुग्ने नेता भट्टराईले टिप्पणी गरे ।