
नरबहादुर रिजाल, दैलेख ।
दैलेखमा शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ ।जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो ।
पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ । जिल्लाका विभिन्न भूभागमा साइस्मिक सर्वेको कार्य तीव्र पारिएसँगै छिट्टै सर्बेको निष्कर्ष आउने आशा गरिएको छ ।
चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलिले पेट्रोलियम अन्वेषणका विभिन्न काम एकै साथ अगाडि बढाएका हुन् । विदेशमा पेट्रोलियम अन्वेषणका लागि काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन् ।
अनुसन्धानका लागि अत्याधुनिक साधनसमेत ल्याइएको छ । साइस्मिक सर्वेअन्तर्गत जमीनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । विभिन्न चारवटा सर्वेमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्वेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ ।
नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि डिलिङ गर्ने काम शुरु गरिएको छ ।
सर्वेका लागि तयार पारिएका १० सर्कलमा अहिले १० समूह निर्माण गरेर ड्रिलिङको काम शुरु गरिएको छ । दशमध्ये एउटा सर्कलमा जमीनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा उक्त कार्य तीव्ररुपमा अगाडि बढेको छ ।
जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने खानी तथा भूभर्वविद् एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।
पहाडी भूभाग भएकाले साइस्मिक सर्वेका लागि आवश्यक उपकरण लिन र लैजानसमेत समस्या हुने गरेको छ । भिरालो जमीन र बढीजसो स्थानमा ढुङ्गाको चट्टान भएका कारण सामान्य समस्या भए पनि कामको गति नरोकिएको अन्वेषणमा संलग्न टोलीले जानकारी दिएको छ ।
अन्वेषणका लागि ड्रिलिङ मेशिन राख्नुपर्ने, त्योसँगै जेनेरेटरलगायतका सामान लिन लैजान केही समस्या भएको छ । एक समूहमा आठ नेपाली कामदार र दुई जना विज्ञ सम्मिलित टोलीले विभिन्न दशवटा सर्कलभित्र काम गरेका छन् ।
चट्टानका कारण कहिलेकाहीँ मेशिनमा सामान्य समस्या उत्पन्न हुने गरेको भए पनि तत्काल मेशिन निर्माण गरेर काम शुरु भइरहेको साइस्मिक परियोजनाको व्यवस्थापन जिम्मेवारी लिएका सूर्यमणि लामिछानेले जानकारी दिनुभयो ।
अन्वेषण कार्यका लागि आवश्यक पर्ने सबै खाले सुरक्षा व्यवस्था मजबुत पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्रिय महत्वको परियोजना भएकाले जिल्लाको समग्र सुरक्षाको व्यवस्थापन गरिएको र परियोजना सफल भए आर्थिकरुपमा नेपालले ठूलो फड्को मार्ने बताउनुभयो ।
“हामीले टोलीमा खटिएका विषयलगायतका अन्य विषयमा नजिकको प्रहरी वा अन्य सुरक्षा निकायलाई दैनिकरुपमा भेटघाट गर्ने र कुनै स्थानमा अभान्छित गतिविधि भए तत्काल कारवाही प्रक्रिया थाल्न निर्देशन दिएका छौँ”, प्रजिअ कट्टेलले भन्नुभयो ।
अन्वेषणका लागि आवश्यक पर्ने सामान चुप्रा क्याम्पमा राखिएको छ । दिनभर विभिन्न भूभागमा काम गरेर टोली साँझ क्याम्पमै फर्कने गरेको छ । दुल्लुमा पनि क्याम्प निर्माण गरिने भनिए पनि काम गर्ने सबै स्थान नजिकसम्म यातायातको सुविधा पुगेका कारण अहिले चुप्राकै क्याम्पबाट काम शुरु गरिएको छ । आवश्यकताअनुसार दुल्लुमा पनि क्याम्प खडा गर्ने तयारी आयोजनाको छ ।
पेट्रोलियम अन्वेषणको काम संवेदनशील भएकाले खोज र अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षितरुपमा गर्नुपर्ने भएकाले कुन भूभागमा कति परिमाणमा छ या छैन भन्ने कुराको यकिन भएपछि मात्र सञ्चारमाध्यममा यसको प्रगति दिने त्यस
अघि वा पछि चिनियाँ टोलीले कुनै प्रतिक्रिया नदिने बताइएको छ । साइस्मिक सर्वेपछिको रिपोर्टका आधारमा उपयुक्त स्थानको खोजी गरेर भण्डारणका बारेमा थप अनुसन्धान थालिने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड घोडेजात्राको दिन पाटनमा दौडाउने एक्लो घोडा जस्तै बनेका छन्, सरकारको एक्लो सारथि । झण्डा हल्लाउनका लागि सरकारसँग केही जागिरे मन्त्री छन्, न उनीहरूले जनताको काम गरेका छन्, न सरकारको प्रतिरक्षा नै ।
प्रधानमन्त्री बनेको सय दिनमा प्रचण्डले कुनै त्यस्तो निर्णय गरेनन्, जसलाई नेपाली जनताले पछिसम्म सम्झिरहून् । एउटा निर्णय गरे, त्यो विवादमा पर्यो, माओवादी जनयुद्धमा मारिएकाहरूको नाम शहीदका रूपमा राजपत्रमा प्रकाशित गर्ने । आमरूपमा सर्वस्वीकार्य नभएपनि त्यो निर्णयले देशमा परिवर्तनका लागि ज्यान आहुती दिएका सोझासिधा नागरिकप्रति भने न्याय भएको नै मान्नुपर्छ ।
नेकपा एमालेले बोकेर प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सहयात्रा शुरू गरेका प्रचण्डमा शुरूआती दिनहरूमा जोश जाँगर देखिन्थ्यो । आफैंलाई चितवनबाट विस्थापित गराएर गोरखा पुर्याएका रवि लामिछानेदेखि भ्रष्टाचारको विरोध गरेर हैसियत बनाएका राजेन्द्र लिङ्देनसम्मलाई प्रचण्डले सरकारमा समेटेका थिए ।
सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाही प्रशिक्षित केही उच्छृङ्खल युवाले नाराबाजी गरे । ‘हत्यारा र जनतामारा’को आरोपसहित प्रचण्डका अगाडि नारा लगाइयो ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका युवाको मुख थुनेको दृश्यले सरकारको आलोचना बढायो ।पुस ११ गते शपथपछि बसेको मन्त्रिपरिषद् बैठकले जनतालाई प्रत्यक्ष राहत दिने खालका निर्णय गरेको थियो– सरकारी सेवा प्रवाहको लाइन हटाउने । छोटो समयमा घर फर्केका केही मन्त्रीहरूले स्टन्ट गरे ।
तर, सरकारी कार्यालयमा सेवाग्राहीको लाइन जस्ताकोतस्तै छ, खासगरी सरकारी अस्पतालमा त्यस्तो लाइन देख्न सकिन्छ । स्वास्थ्यका लागि जनताले कुन हदसम्मको कष्ट व्यहोरिरहेका छन्, यसप्रति स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीले अन्देखा गरिरहेका छन् ।
मिडिया र विश्लेषकहरू सरकारको आलोचना गर्छन् भन्ने सत्तामा बस्नेहरूको सनातनी बुझाइ छ । सरकारप्रति जनताको धारणा के छ भनेर बुझ्न प्रधानमन्त्रीले एकजना कारिन्दालाई सरकारी अस्पतालको लाइन या सार्वजनिक यातायातमा पठाए पुग्छ ।